जलवायु न्यायका लागि वित्तीय सहयोग र अन्तर्राष्ट्रिय सहकार्य बढाउन राष्ट्रसङ्घ महासचिवको आग्रह

ड्रागन मिडिया समाचार कक्ष
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्दै विकासशील देशका लागि वित्तीय सहयोग बढाउन आग्रह गरेका छन्। सेप्टेम्बर २३ मा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित जलवायु कारवाही तथा न्यायोचित ऊर्जा रूपान्तरणसम्बन्धी उच्चस्तरीय कार्यक्रममा उनले जलवायु न्यायका प्रतिबद्धतालाई ठोस कार्यमा परिणत गर्न ढिलाइ गर्न नहुने बताएका हुन्।
गुटेरेसले हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण, जलवायु परिवर्तनका प्रभावसँग अनुकूलन र वित्तीय सहयोगका क्षेत्रमा न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिए। विश्वले जलवायु न्यायको माग गरिरहेको उल्लेख गर्दै उनले त्यसको जवाफ घोषणाबाट नभई कार्यान्वयनबाट दिनुपर्ने बताए।
महासचिव गुटेरेसले प्रत्येक देशलाई स्पष्ट समयसीमासहित जीवाश्म इन्धनबाट क्रमशः बाहिरिने विश्वसनीय कार्ययोजना तयार गर्न आग्रह गरे। उनले जलवायु परिवर्तनको सामना कुनै एक देशको प्रयासबाट सम्भव नहुने भएकाले अन्तर्राष्ट्रिय सहकार्यलाई ऊर्जा रूपान्तरणको आधार बनाउनुपर्ने धारणा व्यक्त गरे।
विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको करिब ८० प्रतिशत हिस्सा ओगट्ने जी२० समूहका देशहरूले जलवायु कारवाहीमा नेतृत्व लिनुपर्ने उनको भनाइ थियो। यद्यपि विश्वव्यापी जलवायु नीति निर्माण र निर्णय प्रक्रियाबाट विकासशील देशहरूलाई बाहिर राख्न नहुने उनले स्पष्ट पारे। यस क्रममा उनले साझा तर फरक जिम्मेवारीको सिद्धान्त लागू गर्नुपर्नेमा जोड दिए।
गुटेरेसले जीवाश्म इन्धनबाट नवीकरणीय ऊर्जातर्फको रूपान्तरण सफल बनाउन पर्याप्त वित्तीय स्रोत अपरिहार्य रहेको बताए। उनले विकासशील देशहरूका लागि वार्षिक कम्तीमा तीन खर्ब अमेरिकी डलर परिचालन गर्नुपर्ने र सन् २०३५ सम्ममा वार्षिक जलवायु वित्तीय सहयोग १३ खर्ब अमेरिकी डलर पुर्याउनुपर्ने आवश्यकता औँल्याए।
उनले अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गरी विकासशील देशहरूको भूमिका बढाउन तथा बहुपक्षीय विकास बैंकहरूलाई थप स्रोतसाधनयुक्त, प्रभावकारी र निर्णायक बनाउन आग्रह गरे। जलवायु परिवर्तनबाट प्रभावित देशहरूलाई आवश्यक वित्तीय सहयोग उपलब्ध नगराई विश्वव्यापी ऊर्जा रूपान्तरण न्यायोचित र दिगो हुन नसक्ने उनको सन्देश थियो।
जीवाश्म इन्धनमा आधारित युग अन्त्य गर्ने प्रविधि र साधन उपलब्ध भएको पहिलो पुस्ता वर्तमान मानव समुदाय नै भएको उल्लेख गर्दै गुटेरेसले जलवायु विपद रोक्ने अवसर गुम्न नदिन ती साधनको प्रभावकारी उपयोग गर्न विश्व समुदायलाई आह्वान गरे।




