चीनद्वारा नेपाललाई कृत्रिम बौद्धिकतामा आधारित मौसम पूर्वसूचना प्रणाली हस्तान्तरण

ड्रागन मिडिया सम्वाददाता
चीनले नेपाललाई कृत्रिम बौद्धिकतामा आधारित अत्याधुनिक मौसम अनुगमन तथा पूर्वसूचना प्रणाली ‘माजु नेपाल’ औपचारिक रूपमा हस्तान्तरण गरेको छ। अगस्ट २६ मा नेपालमा आएको विनाशकारी पहिरो र बाढीपछि परीक्षणका रूपमा उपलब्ध गराइएको यो प्रणालीको सफल प्रयोगपश्चात् सेप्टेम्बर २२ मा चीनको सिन्च्याङस्थित उरुम्चीमा आयोजित दोस्रो चीन–मध्यएसिया मौसम विज्ञान सहकार्य मञ्चका क्रममा औपचारिक हस्तान्तरण गरिएको हो।
चिनियाँ मौसम विज्ञान प्रशासनका अनुसार नेपालमा आएको विपदपछि चीनले निरन्तर मौसमसम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराएको थियो। त्यस क्रममा दुवै देशका मौसमविद्बीच श्रव्यदृश्य माध्यमबाट संयुक्त परामर्श सञ्चालन गर्नुका साथै मौसम पूर्वानुमान र पूर्वसूचनासम्बन्धी सामग्री उपलब्ध गराइएको थियो। विपद आएको तीन दिनपछि अगस्ट २९ मा माजु नेपाल प्रणालीलाई अनलाइन परीक्षणका लागि उपलब्ध गराइएको थियो।
उद्धार कार्य सञ्चालन भइरहेका बेला चिनियाँ मौसम विज्ञान प्रशासनले माजु नेपाल प्रणालीका आधारमा दैनिक मौसम अनुगमन तथा पूर्वानुमान विवरण तयार गरेको थियो। नेपाली अधिकारीहरूले पनि अनलाइन माध्यमबाट प्रणालीमा पहुँच प्राप्त गरी त्यसबाट उपलब्ध सूचना संयुक्त परामर्श र विपद प्रतिकार्यमा प्रयोग गरेका थिए।
माजु नेपाल प्रणालीमा चीनका फङयुन मौसम उपग्रहबाट प्राप्त अवलोकन तथ्याङ्क तथा फङछिङ र फङशुनजस्ता चिनियाँ कृत्रिम बौद्धिकता पूर्वानुमान प्रणाली समावेश गरिएका छन्। यसले उच्च स्पष्टताका साथ मौसमको अनुगमन र छिटो अद्यावधिक हुने पूर्वानुमान उपलब्ध गराउँछ। प्रणालीलाई नेपालको भौगोलिक अवस्था, विपदको प्रकृति, पूर्वाधार तथा उपलब्ध तथ्याङ्कको परिस्थितिअनुसार अनुकूलित गरिएको छ।
बेइजिङस्थित विश्व मौसम विज्ञान केन्द्रको सञ्चालन कार्यालयका वरिष्ठ इञ्जिनियर ह्वा वनलीले माजु नेपाललाई अनलाइन पूर्वसूचना प्रणालीमा मात्र सीमित नराखी नेपालमा आधुनिक मौसमसम्बन्धी पूर्वसूचना क्षमता विस्तार गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा विकास गरिएको बताएका छन्।
चिनियाँ मौसम विज्ञान प्रशासनले आगामी चरणमा नेपालमा माजु फङयुन उपग्रहमा आधारित कृत्रिम बौद्धिकता उपकरण तथा सम्बन्धित प्रणाली जडान गर्न सहयोग गर्ने जनाएको छ। यसअन्तर्गत नेपाली प्राविधिक जनशक्तिलाई विशेष तालिम उपलब्ध गराउने, द्विपक्षीय तथ्याङ्क आदानप्रदानको व्यवस्था स्थापना गर्ने तथा मौसम र विपदसम्बन्धी नियमित संयुक्त परामर्श सञ्चालन गर्ने योजना रहेको छ।
चिनियाँ मौसम विज्ञान प्रशासनका प्रमुख छन चनलिनले मौसमसम्बन्धी पूर्वसूचना आर्थिक तथा सामाजिक विकास, नागरिकको कल्याण र जनधनको सुरक्षाका लागि महत्त्वपूर्ण रहेको बताएका छन्। उनले चीनमा विकास गरिएको माजु प्रणालीलाई विश्वव्यापी सार्वजनिक हितमा उपयोग हुने प्रविधिका रूपमा विस्तार गर्दै विभिन्न देशको पूर्वसूचना क्षमता सुदृढ बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल र चीनबीचको यो सहकार्य संयुक्त राष्ट्रसङ्घको ‘सबैका लागि पूर्वसूचना’ अभियानसँग पनि सम्बन्धित छ। विशेषगरी हिमाली तथा पहाडी भूभागमा आकस्मिक वर्षा, पहिरो र बाढीको जोखिम सामना गरिरहेको नेपालका लागि उपग्रहबाट प्राप्त तथ्याङ्क, कृत्रिम बौद्धिकतामा आधारित पूर्वानुमान र स्थानीय प्राविधिक क्षमताको संयोजनले विपद जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





