८ आश्विन २०८३, बिहीबार

अदालतप्रति सत्तापक्षका सांसदको अभिव्यक्तिमा एमाले सांसद बरालको आपत्ति

ड्रागन मिडिया सम्वाददाता

नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सत्तारुढ दलका सांसदहरूले अदालतका निर्णयप्रति व्यक्त गरेका चेतावनीपूर्ण अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। न्यायपालिकाको निर्णयमाथि असहमति व्यक्त गर्ने क्रममा अदालतकै संस्थागत स्वतन्त्रतामा असर पर्ने भाषा प्रयोग भइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपाने र मधुकुमार चौलागाईंले संसदमा अदालतका निर्णयमाथि प्रश्न उठाउँदै दिएको अभिव्यक्तिको पृष्ठभूमिमा बरालले सत्तापक्षबाटै न्यायपालिकाप्रति राजनीतिक आक्रोश व्यक्त हुनु गम्भीर विषय भएको बताए।

उनले अदालतलाई कमजोर बनाएर लोकतन्त्र बलियो बनाउन नसकिने उल्लेख गर्दै न्यायपालिका स्वतन्त्र, सक्षम र निर्भीक रहनुपर्नेमा जोड दिए। सरकार वा सत्तारुढ दल संविधान र कानुनको सीमाभन्दा बाहिर गएमा त्यसलाई रोक्नु अदालतको संवैधानिक अधिकार भएको उनको भनाइ थियो।

बरालले भदौ २४ गते अदालतमा भएको तोडफोड र आगजनीको प्रसंगसमेत उठाए। उक्त घटनामा ठूलो संख्यामा मुद्दाका मिसिल नष्ट हुँदा न्यायको प्रतीक्षामा रहेका नागरिक प्रभावित भएको उल्लेख गर्दै उनले न्यायपालिकामाथि हुने भौतिक आक्रमण र संस्थागत दबाब दुवैप्रति सचेत रहन आग्रह गरे।

अदालतका निर्णयमाथि कानुनी तथा सार्वजनिक बहस गर्न सकिने भए पनि न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक भूमिकाको सम्मान आवश्यक रहेको विषयलाई बरालले आफ्नो अभिव्यक्तिको केन्द्रमा राखेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button