निरन्तर वर्षाले देशभर जोखिम बढ्यो, सडक बन्ददेखि विद्यालय र पदयात्रासम्म प्रभावित

ड्रागन मिडिया सम्वाददाता
देशका विभिन्न भागमा निरन्तर वर्षा भइरहँदा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिम बढेको छ। बिहीबार अपराह्नसम्म विभिन्न जिल्ला प्रशासन, स्थानीय तह र विपद व्यवस्थापन निकायले जोखिमयुक्त सडकमा रात्रिकालीन यातायात बन्द गर्ने, विद्यालयमा बिदा दिने, पदयात्रा स्थगित गर्ने तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउने निर्णय गरेका छन्।
ललितपुरको बागमती गाउँपालिका ३ स्थित काल्चेमाल्टामा पहिरो खसेपछि काठमाडौं जोड्ने कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। हेटौंडाबाट काठमाडौं आउने सवारीसाधनलाई चौघडामा रोकिएको छ। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पनि बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सम्पूर्ण सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको छ। इलामको मेची राजमार्ग र जोखिमयुक्त सडक, धनकुटाका विभिन्न सडक तथा दाङ र सल्यानका प्रमुख सडकखण्डमा पनि निश्चित अवधिका लागि रात्रिकालीन यातायात रोकिएको छ।
संखुवासभाको भोटखोलास्थित खाँदबारी–किमाथांका सडकको हुङहुङ क्षेत्रमा करिब सात सय मिटर सडकखण्डमा ठाउँठाउँमा पहिरो गएपछि असोज १२ गतेसम्म यातायात बन्द गरिएको छ। पाल्पामा तिनाउलगायत नदीको बहाव बढेको छ भने ग्रामीण सडकमा पहिरो गएको र केही क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा रहेको जनाइएको छ।
कास्कीमा भारीदेखि अति भारी वर्षाको जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन बस सेवा र जिल्लाभित्रका सम्पूर्ण पदयात्रा मार्गमा आवतजावत बन्द गरिएको छ। पोखरा महानगरपालिकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गरेको छ। मौसम पूर्वानुमान महाशाखाले हिमाली क्षेत्रमा भारी हिमपातको समेत जोखिम रहेको भन्दै पदयात्रामा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा फर्कन तथा नयाँ यात्रा तत्काल स्थगित गर्न आग्रह गरेको छ। ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिले पनि मौसममा सुधार नआएसम्म यात्रा तथा दर्शन स्थगित गर्न अनुरोध गरेको छ।
खोटाङका दशवटै स्थानीय तहले जोखिमको अवस्था हेरेर एकदेखि दुई दिनसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन्। काभ्रेका बनेपा, बेथानचोक, मण्डनदेउपुर र रोशीका विद्यालय बन्द गरिएका छन् भने मकवानपुर, गुल्मी र सल्यानका विभिन्न स्थानीय तहले पनि विद्यालयमा बिदा दिएका छन्। काठमाडौं महानगरपालिकाले बाढी तथा डुबानको जोखिम रहेका क्षेत्र र विद्यालयमा निगरानी बढाएको छ।
मधेश प्रदेश सरकारले सम्भावित बाढी, डुबान र अन्य विपदलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाएको छ। प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिले खाद्यान्न, औषधि, दैनिक उपभोग्य वस्तु तथा उद्धार सामग्री तयारी अवस्थामा राख्न र जोखिमयुक्त क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, बालबालिका, महिला तथा अपाङ्गता भएका व्यक्तिलाई आवश्यक परे सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
रुपन्देहीमा तिनाउ, दानव र रोहिणी नदी आसपासका क्षेत्रलाई जोखिमयुक्त मानेर खोज, उद्धार, राहत र पुनर्स्थापनाको पूर्वतयारी गरिएको छ। बर्दियामा कर्णाली, बबई, भादा र ओराही नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। भक्तपुरमा मनोहरा र हनुमन्ते खोला आसपासका जोखिमयुक्त बस्तीमा सशस्त्र प्रहरीले माइकिङमार्फत सतर्कता सन्देश प्रवाह गरेको छ।
मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रमा साइरन जडान गरेको छ। लगातार तीनपटक साइरन बजेमा आपतकालीन अवस्था बुझेर खोला किनार छाडेर सुरक्षित अग्लो स्थानमा जान स्थानीयलाई आग्रह गरिएको छ। जलाशयको ढोका खोल्नुपर्ने अवस्था आएमा तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना दिइने आयोजनाले जनाएको छ।
मौसमसम्बन्धी चेतावनीपछि राजनीतिक कार्यक्रमसमेत प्रभावित भएका छन्। खोटाङ कांग्रेसले शनिबारका लागि तय गरेको जिल्ला अधिवेशन स्थगित गरेको छ भने जनमत पार्टीले वीरगन्जमा असोज ९ र १० गते आयोजना गर्ने भनिएको महाधिवेशन असोज १७ गतेका लागि सारेको छ।
सम्बन्धित निकायहरूले आगामी केही दिन लामो दूरीको अनावश्यक यात्रा नगर्न, नदी तथा खोला किनारमा नजान, पहिरो र डुबानको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन तथा मौसम र स्थानीय प्रशासनबाट जारी आधिकारिक सूचनालाई नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई आग्रह गरेका छन्।





