श्रम अनुमति बिना काम गरेका ८८ चिनियाँ नागरिकको व्यावसायिक भिसा रद्द, निष्कासन प्रक्रिया शुरु

ड्रागन मिडिया सम्वाददाता
सिन्धुलीको मरिण गाउँपालिका ४ मा निर्माणाधीन मासु प्रशोधन उद्योगमा आवश्यक श्रम अनुमति नलिई काम गरेको पाइएपछि अध्यागमन विभागले ८८ चिनियाँ नागरिकको व्यावसायिक भिसा रद्द गरी निष्कासन प्रक्रिया अघि बढाएको छ। उनीहरूले अन्य कम्पनी तथा व्यावसायिक प्रयोजनका आधारमा भिसा लिएको तर भिसाको स्वीकृत उद्देश्यभन्दा फरक काममा संलग्न भएको अध्यागमन विभागले जनाएको छ।
ती चिनियाँ नागरिक जयमान फुड्स प्रालिमा कार्यरत रहेको जनाइएको छ। चिनियाँ कम्पनी छेन्दु तियान फुड्स लिमिटेडको आर्थिक साझेदारीमा निर्माण भइरहेको उक्त उद्योग नेपालमा प्रशोधित भैंसीको मासु उत्पादन गरी चीन निर्यात गर्ने उद्देश्यले स्थापना गरिएको हो। सम्बन्धित निकायको संयुक्त अनुगमनका क्रममा उनीहरूले श्रम तथा रोजगारी प्रकृतिको काम गरिरहेको तर त्यसअनुरूप आवश्यक अनुमति नलिएको पाइएको थियो।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार ८८ जनाले अन्य कम्पनी तथा फरक व्यावसायिक प्रयोजनका लागि व्यावसायिक भिसा लिएका थिए। उनीहरू स्वीकृत भिसाको उद्देश्यभन्दा फरक गतिविधिमा संलग्न रहेको पाइएपछि भिसा रद्द गरिएको हो। अध्यागमन ऐनअनुसार आवश्यक जरिवाना गरी उनीहरूलाई नेपालबाट निष्कासन गर्ने प्रक्रिया पनि अघि बढाइएको विभागले जनाएको छ।
यसअघि सिन्धुलीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र अध्यागमन अधिकृतसहितको टोलीले उद्योगको अनुगमन गरेको थियो। अनुगमनपछि विदेशी नागरिकको भिसा, नेपालमा बसाइको उद्देश्य र उद्योगमा भइरहेको कामको प्रकृतिबारे थप परीक्षण गरिएको थियो।
श्रम विभागका अनुसार विदेशी नागरिकले नेपालमा काम गर्न सम्बन्धित मन्त्रालय तथा गृह मन्त्रालयलगायत आवश्यक निकायको सिफारिस र स्वीकृतिका आधारमा श्रम अनुमति लिनुपर्छ। श्रम विभागका प्रवक्ता मणिनाथ गोपले जयमान फुड्सले ती विदेशी नागरिकका लागि आवश्यक श्रम अनुमति नलिएको बताएका छन्।
अध्यागमन विभागले विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र शर्तअनुसार मात्रै गतिविधि गर्न आग्रह गरेको छ। उद्योग, कम्पनी तथा रोजगारदातालाई पनि आवश्यक भिसा र कानुनी अनुमति नलिएका विदेशी नागरिकलाई काममा नलगाउन सचेत गराइएको छ।
यसैबीच उद्योग परिसरमा रहेका अन्य चिनियाँ नागरिकको भिसा अवस्था र गतिविधिबारे समेत अध्यागमन अधिकारीहरूले परीक्षण गरिरहेका छन्। अनुसन्धान पूरा नभएसम्म उनीहरूले कानुन उल्लङ्घन गरेको निष्कर्षमा पुग्न नमिल्ने भएकाले प्रत्येक व्यक्तिको भिसा अवस्था र वास्तविक गतिविधिका आधारमा थप निर्णय गरिने जनाइएको छ।
भैंसीको प्रशोधित मासु चीन निर्यात गर्ने उद्देश्यले अघि बढाइएको उद्योग नेपाल र चीनबीच कृषि तथा मासुजन्य उत्पादनको व्यापार विस्तारसँग सम्बन्धित परियोजना भएकाले पछिल्लो कारवाहीलाई परियोजनाको वैधानिक व्यापारिक उद्देश्य र व्यक्तिगत अध्यागमन तथा श्रम कानुन पालनाको विषयबाट पृथक रूपमा हेर्नुपर्ने देखिन्छ। विभागको कारवाही उद्योगको लगानी वा निर्यात परियोजनाविरुद्ध नभई भिसा र श्रम अनुमति उल्लङ्घनसम्बन्धी विषयमा केन्द्रित रहेको छ।





