एमालेले माथिल्लो संरचना विस्तार गर्दै, ईश्वर पोखरेल स्थायी कमिटीमा

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमालेले पार्टीको माथिल्लो संगठनात्मक संरचनालाई पूर्णता दिने क्रममा पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई स्थायी कमिटीमा समेट्ने निर्णय गरेको छ। केन्द्रीय पदाधिकारी बैठकले पोखरेललाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको हो। स्थायी कमिटी र पोलिटब्युरोको प्रस्तावित संरचनालाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिनेछ।
पोखरेल एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध अध्यक्ष पदका उम्मेदवार थिए। अध्यक्षमा निर्वाचित हुन नसके पनि उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। महाधिवेशनपछि पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा गरेका पोखरेललाई स्थायी कमिटीमा समेट्ने निर्णयसँगै उनी एमालेको प्रमुख निर्णयकारी संरचनामा रहने भएका छन्।
पार्टीले अन्य केही वरिष्ठ नेतालाई पनि स्थायी कमिटीमा समेट्ने तयारी गरेको छ। पूर्वउपमहासचिव प्रदीप ज्ञवाली, पूर्वसभामुख देवराज घिमिरे, पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फे तथा नेताहरू काशीनाथ अधिकारी, थममाया थापा र लालबाबु पण्डित स्थायी कमिटीमा रहने प्रस्ताव गरिएको छ।
ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठनलाई अन्तिम रूप दिने तयारी गरेको छ। पदाधिकारी बैठकबाट प्रस्तावित नाम र संरचना केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि महाधिवेशनपछिको एमालेको माथिल्लो संगठनात्मक संरचनाले औपचारिक पूर्णता पाउनेछ।





