८ आश्विन २०८३, बिहीबार

कठोर मापदण्ड र नवप्रवर्तनसँगै चीनको अन्तरिक्ष अभियान चन्द्रमातर्फ

ड्रागन मिडिया समाचार कक्ष

अन्तरिक्ष स्टेशनको नियमित सञ्चालनदेखि मानवसहित चन्द्रमामा पुग्ने तयारीसम्म चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ चरणमा प्रवेश गराएको छ। यस यात्रामा प्राविधिक शुद्धता, जोखिम नियन्त्रण र निरन्तर नवप्रवर्तनलाई मुख्य आधार बनाइएको चिनियाँ अन्तरिक्ष क्षेत्रका विज्ञहरूले बताएका छन्।

चीनको मानव अन्तरिक्ष कार्यक्रमको पहिलो आपत्कालीन प्रक्षेपण यस क्षमताको एउटा उदाहरण बनेको छ। गत नोभेम्बरमा सेन्झोउ २० अन्तरिक्षयानको फिर्ती क्याप्सुलको झ्यालमा अन्तरिक्ष भग्नावशेषको ठक्करबाट भएको अनुमान गरिएका साना चिरा भेटिएपछि निर्धारित फिर्ती स्थगित गरिएको थियो। त्यसपछि तीन अन्तरिक्षयात्री सेन्झोउ २१ मार्फत सुरक्षित रूपमा पृथ्वी फर्किए भने सेन्झोउ २१ का चालकदलका लागि वैकल्पिक फिर्ती यानका रूपमा सेन्झोउ २२ प्रक्षेपण गरिएको थियो। समस्या पहिचानदेखि आपत्कालीन प्रक्षेपणसम्मको सम्पूर्ण प्रक्रिया २० दिनमा पूरा भएको थियो।

च्युछ्वान उपग्रह प्रक्षेपण केन्द्रका प्राविधिक प्रमुख ह पङच्युका अनुसार अन्तरिक्ष स्टेशन निर्माणको प्रारम्भदेखि नै चीनले एउटा अन्तरिक्षयान र रकेट प्रक्षेपणका लागि तथा अर्को संयोजन जगेडामा राख्ने व्यवस्था अपनाएको थियो। यही तयारीका कारण असामान्य अवस्था देखिएपछि जमिनमा परीक्षण, जोखिम मूल्याङ्कन र प्रक्षेपण योजना तीव्र रूपमा अघि बढाउन सम्भव भएको उनले बताए।

अन्तरिक्ष स्टेशन अहिले प्रयोग र विकासको चरणमा प्रवेश गरेको छ। चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतका अनुसन्धानकर्ता तु छाङश्वाईका अनुसार उनको टोलीले करिब २०० अन्तरिक्ष विज्ञान प्रयोग परियोजना कार्यान्वयन गरेको छ। तीमध्ये अन्तरिक्ष स्टेशनमा मुसामाथि गरिएको प्रयोग पनि समावेश छ। चारवटा मुसालाई नियन्त्रित वातावरणमा १४ दिन अन्तरिक्षमा राखेर सुरक्षित रूपमा पृथ्वी फर्काइएको थियो र तीमध्ये एउटा मुसाले पछि नौवटा बच्चा जन्माएको थियो।

चीनको आगामी प्रमुख लक्ष्य मानवसहित चन्द्रमामा अवतरण गर्नु हो। चीनका पहिलो अन्तरिक्षयात्री याङ लिवेईका अनुसार दुईवटा रकेटमार्फत मङचोउ मानवसहितको अन्तरिक्षयान र लान्युए चन्द्र अवतरण यान प्रक्षेपण गरिनेछ। दुवै यान चन्द्रमाको कक्षामा जोडिएपछि अन्तरिक्षयात्री लान्युएमार्फत सतहमा अवतरण गर्नेछन्। निर्धारित कार्य पूरा भएपछि उनीहरू पुनः चन्द्र कक्षामा फर्केर मङचोउसँग जोडिने र त्यसैबाट पृथ्वी फर्किने योजना छ।

चीनले सन् २०३० सम्म मानवलाई चन्द्रमामा अवतरण गराउने लक्ष्य राखेको छ। यसका लागि लङ मार्च १० वाहक रकेट, मङचोउ मानवसहितको अन्तरिक्षयान र लान्युए चन्द्र अवतरण यानको विकास अघि बढिरहेको छ। मङचोउको आपत्कालीन उद्धार प्रणाली, लान्युएकको अवतरण तथा उडान र लङ मार्च १० रकेट प्रणालीसम्बन्धी विभिन्न महत्त्वपूर्ण परीक्षण सम्पन्न भइसकेका छन्।

चिनियाँ अन्तरिक्ष विज्ञहरू भविष्यमा लङ मार्च रकेट श्रृंखलाको वहन क्षमता बढाउने, ठूला भार अन्तरिक्षमा पुर्‍याउने, नियमित यातायातजस्तो प्रक्षेपण प्रणाली विकास गर्ने र बुद्धिमान प्रविधिको प्रयोग विस्तार गर्ने योजनामा छन्। उपकक्षीय अन्तरिक्षयान विकास गरी सर्वसाधारणलाई समेत करिब दशदेखि १५ मिनेटसम्म भारहीनताको अनुभव गराउने दीर्घकालीन अवधारणा पनि अघि सारिएको छ।

चीनको अन्तरिक्ष कार्यक्रमका अग्रणी वैज्ञानिक छ्येन सुएसनले सन् १९६६ मा देशका वाहक रकेटलाई ‘लङ मार्च’ नाम दिन प्रस्ताव गरेका थिए। अहिले यही नाम चीनको अन्तरिक्ष प्रविधिको निरन्तर यात्रासँग जोडिएको छ, जसको आगामी प्रमुख गन्तव्य मानवसहितको चन्द्र अन्वेषण बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button