इजिप्टको प्राचीन मन्दिर क्षेत्रमा दुई पवित्र तालको अद्वितीय संरचना फेला

ड्रागन मिडिया समाचार कक्ष
चीन र इजिप्टका पुरातत्वविद्को संयुक्त टोलीले इजिप्टको लक्सरस्थित मोन्टु मन्दिर क्षेत्रमा दुईवटा पवित्र ताल रहेको संरचना पत्ता लगाएको छ। एउटै प्राचीन इजिप्टेली मन्दिर परिसरभित्र दुई पवित्र तालको संरचना पहिचान गरिएको यो पहिलो उदाहरण भएको चीनको राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनले जनाएको छ।
लक्सरको उत्तरी भागमा रहेको मोन्टु मन्दिर क्षेत्र प्रसिद्ध कार्नाक मन्दिर परिसरको महत्त्वपूर्ण हिस्सा हो। तीन हजार वर्षभन्दा पुरानो यो पुरातात्विक क्षेत्रमा सन् २०१८ देखि चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गतको पुरातत्व संस्थान र इजिप्टको पर्यटन तथा पुरातात्विक सम्पदा मन्त्रालयअन्तर्गतको सर्वोच्च पुरातात्विक परिषदका अनुसन्धानकर्ताले संयुक्त रूपमा व्यवस्थित सर्वेक्षण र उत्खनन गर्दै आएका छन्।
सन् २०२६ सम्म संयुक्त टोलीले करिब दुई हजार ३०० वर्गमिटर क्षेत्रमा उत्खनन गरिसकेको छ। पछिल्लो अनुसन्धानका क्रममा पुरातत्वविद्ले यसअघि पहिचान नभएको ५० वर्गमिटरभन्दा ठूलो दक्षिणी पवित्र तालको अवशेष फेला पारेका हुन्। यसलाई यसअघि ज्ञात उत्तरी पवित्र तालसँग जोडेर हेर्दा एउटै मन्दिर परिसरभित्र दुई पवित्र ताल रहेको विशिष्ट संरचना पुष्टि भएको छ।
चिनियाँ राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका अनुसार नयाँ खोजले मोन्टु मन्दिरमा प्रचलित धार्मिक अनुष्ठान तथा मन्दिरका विभिन्न कार्यगत पक्षबारे अध्ययन गर्न महत्त्वपूर्ण आधार प्रदान गर्नेछ। संयुक्त टोलीले सन् २०१८ यता गरेको उत्खनन र अनुसन्धानबाट मन्दिर क्षेत्रको ऐतिहासिक संरचना र प्रयोगसँग सम्बन्धित विभिन्न तथ्य क्रमशः उजागर हुँदै आएका छन्।
मोन्टु मन्दिरमा मात्र सीमित नरही चिनियाँ पुरातत्वविद्हरू लक्सर, कायरो र अलेक्जान्ड्रियालगायत इजिप्टका विभिन्न पुरातात्विक क्षेत्रमा अनुसन्धानमा संलग्न छन्। पुरातत्वसम्बन्धी सहकार्यसँगै चीन र इजिप्टबीच सांस्कृतिक आदानप्रदानका क्षेत्रसमेत विस्तार हुँदै गएका छन्।





