८ आश्विन २०८३, बिहीबार

सर्वोच्चको परमादेशपछि राजनीतिक विश्लेषक भरत दाहाल रिहा हुने

ड्रागन मिडिया सम्वाददाता

सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरतमणि दाहाललाई थुनामुक्त गरी तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। दाहालकी छोरी डेनिका दाहालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा परमादेश जारी गरेको हो।

यसअघि न्यायाधीश रेग्मीको एकल इजलासले दाहाललाई नियन्त्रणमा लिनुको आधार र कारणसहित लिखित जवाफ पेश गर्न तथा अनुसन्धानको मिसिल र बन्दीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। त्यसपछि दाहाललाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो। अदालतको पछिल्लो आदेशसँगै उनलाई हिरासतमा नराखी तारेखमा राखेर अनुसन्धान अघि बढाउनुपर्ने भएको छ।

दाहाललाई प्रहरीले असोज ४ गते मोरङबाट पक्राउ गरेको थियो। उनी राजनीतिक छलफल तथा कार्यक्रममा सहभागी हुन असोज २ गते कोशी प्रदेश गएका थिए। कार्यक्रम सकेर काठमाडौं फर्किने तयारीमा रहेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउपछि साइबर ब्युरोले अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्याद लिएको थियो।

दाहालमाथि अमेरिकी सञ्चारमाध्यम द ग्रेजोनले नेपालको जेनजी आन्दोलन तथा राजनीतिक नेतृत्वबारे प्रकाशित गरेको प्रतिवेदन सामाजिक सञ्जालमार्फत प्रसार गरी टिप्पणी गरेको विषयमा अनुसन्धान भइरहेको छ। उनले सेप्टेम्बर १२ मा उक्त प्रतिवेदनलाई “अमेरिकी पत्रिकामा अर्को विस्फोट” शीर्षकसहित सामाजिक सञ्जालमा साझा गरेका थिए।

दाहाल पक्राउ परेपछि उनकी छोरीले गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। प्रारम्भिक सुनुवाइमा पक्राउको कानुनी आधार मागेको सर्वोच्चले पछिल्लो सुनुवाइपछि उनलाई हिरासतमुक्त गरी तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button