९ आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन पुगेका प्रधानमन्त्री शाहले स्थानीय समयअनुसार साँझ ६ बजेर ३० मिनेटमा महासचिव गुटेरेससँग भेट गर्नुभएको हो।

भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो। उहाँले नेपाली युवा प्रतिनिधिमण्डलको प्रशंसा गर्नुभयो। सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै उहाँले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिनुभयो। भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै उहाँले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनुभयो। भेटमा नदी किनारका बासिन्दाको पुनर्वास, हरित पुनर्निर्माण र अतिकम विकसित राष्ट्रको सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप्न समर्थन जुटाउने विषयमा छलफल भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button