यमपञ्चकको चौथो दिन आज गाईपूजा मनाइँदै

ड्रागन मिडिया सम्वाददाता
तिहार अर्थात् यमपञ्चकको चौथो दिन सोमबार गाईको पूजा गरी गाईपूजा मनाइँदैछ। गाईलाई पवित्र जनावर तथा गौमाताका रूपमा सम्मान गर्दै पूजा गर्ने हिन्दू परम्परा छ।
गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले धार्मिक तथा सांस्कृतिक जीवनमा यसको विशेष स्थान रहेको छ। गाईको दूध पोषिलो हुने विश्वासका कारण पनि यसलाई आमासरह सम्मान गर्ने चलन छ। विधिपूर्वक पूजा गरेर मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन छ। शास्त्रीय मान्यताअनुसार भने औँसी समाप्त भई प्रतिपदा सुरु हुने समयमा गाईपूजा गर्ने परम्परा रहेको धर्मशास्त्रका जानकारहरू बताउँछन्। वैदिक सनातन परम्परामा धार्मिक कार्यका अवसरमा गाईदान गर्ने चलनसमेत छ।
धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार गाईको अभाव भएका ठाउँमा सङ्कल्प गरेर रकम राख्ने चलन बढ्दै गएको छ। गाईलाई राष्ट्रिय जनावरका रूपमा पनि सम्मान गरिएको छ।
धार्मिक विश्वासअनुसार, साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईपूजाका दिन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि वैतरणी नदी पार गर्न गाईले सहयोग गर्छ।





