युरेसियाली सुरक्षामा सहकार्य विस्तारबारे मिन्स्कमा सीएसटीओ छलफल

ड्रागन मिडिया समाचार कक्ष
युरेसियाली क्षेत्रमा सुरक्षाको नयाँ संरचना विकास गर्ने र परम्परागत तथा उदीयमान चुनौतीसँग मिलेर जुध्ने विषयमा सामूहिक सुरक्षा सन्धि सङ्गठन (सीएसटीओ) का सदस्य राष्ट्रका अधिकारी तथा विज्ञहरूले मिन्स्कमा छलफल गरेका छन्।
नोभेम्बर ४ मा चौथो मिन्स्क अन्तर्राष्ट्रिय युरेसियाली सुरक्षा सम्मेलनअन्तर्गत “वृहत्तर युरेसियामा सीएसटीओ : वर्तमान अवस्था र सम्भावना” शीर्षकमा कार्यसत्र आयोजना गरिएको थियो। छलफलमा बेलारुसको सुरक्षा परिषद्का प्रथम उपराज्यसचिव अलेक्जान्डर नेभेरोभ्स्की, रुसी सुरक्षा परिषद्का उपसचिव अलेक्जान्डर भेनेदिक्तोभ र सीएसटीओका महासचिव तालात्बेक मासादिकोभ सहभागी थिए।
कार्यसत्रमा सीएसटीओका पूर्वमहासचिव इमानगली तास्मागाम्बेतोभ र निकोलाई बोर्ड्युजा, सीएसटीओ संसदीय सभाका कार्यकारी सचिव सर्गेई पोस्पेलोभ, सदस्य राष्ट्रका स्थायी परिषद्का प्रतिनिधि तथा विभिन्न देशका प्राज्ञिक र सुरक्षा विज्ञहरू पनि सहभागी भए। छलफलमा युरेसियाली क्षेत्रका विज्ञ समुदायबीच सहकार्य बढाउने र साझा चुनौतीको सामना गर्न प्रभावकारी संयन्त्र विकास गर्ने विषयमा विचार आदानप्रदान भयो।
कार्यक्रममा “सुरक्षा र विकासको साझा क्षेत्रका रूपमा सीएसटीओ : विभिन्न मञ्चबीच सहकार्यको सम्भावना” शीर्षकको विश्लेषणात्मक प्रतिवेदन प्रस्तुत गरियो। रुसी विज्ञान प्रतिष्ठानअन्तर्गत चीन तथा समसामयिक एसियाको अध्ययन संस्था, सामाजिक रूढिवादी नीतिको केन्द्र र सीएसटीओ सचिवालयले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनले क्षेत्रीय सुरक्षा र विकासका विषयमा बहुपक्षीय सहकार्यको सम्भावना औँल्याएको छ।





