घोप्टेभिरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

ड्रागन मिडिया सम्वाददाता
धादिङ र चितवनको सीमाक्षेत्रनजिक पृथ्वी राजमार्गको घोप्टेभिरमा सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ।
कुरिनटारनजिकै पर्ने घोप्टेभिरमा सोमबार बिहान सडक माथिबाट पहिरो खसेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ। पहिरो हटाउन बिहान ६ः३० बजेदेखि मेसिन तथा उपकरण परिचालन गरिएको छ।
पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने अनुमान गरिएको कार्यालयले जनाएको छ। सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर यात्रा गर्ने यात्रु र सवारी चालकलाई सतर्क रहन तथा सम्भव भए वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।





