प्रतिकूल मौसमका कारण धवलागिरि आरोहण टोली सुरक्षित स्थानमा फर्कियो

ड्रागन मिडिया सम्वाददाता
प्रतिकूल मौसम र भारी वर्षाको पूर्वसूचनापछि धवलागिरि हिमालको आधार शिविर पुगेका ३० पर्वतारोही बिहीबार तल्लो क्षेत्रमा रहेको इटली आधार शिविरतर्फ फर्किएका छन्। केही पर्वतारोही हेलिकप्टरबाट पोखरा पुगेका छन्।
आरोहण टोलीको समन्वय गरिरहेका पर्यटनकर्मी इन्द्रसिङ शेरचनका अनुसार वर्षाका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राखेर आरोहण स्थगित गरिएको हो। मौसम सफा भए करिब चार दिनपछि आरोहणलाई निरन्तरता दिने टोलीको योजना छ। आरोहीहरू गत शनिबार म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने हिमालको आधार शिविर पुगेका थिए।
मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको जोखिमबारे सचेत गराएका छन्। पर्यटन विभागले हिमाली क्षेत्रमा रहेका पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह गरेको छ भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले मौसम अनुकूल नभएसम्म आधार शिविरतर्फ नजान अनुरोध गरेको छ।
पर्यटन विभागका अनुसार यस शरदयाममा धवलागिरि आरोहणका लागि चार समूहका १० महिलासहित ३४ जनाले अनुमति लिएका छन्। विभागले उनीहरूबाट ७७ लाख ८२ हजार ४५० रुपैयाँ सलामी दस्तुर प्राप्त गरेको जनाएको छ।
यसैबीच, अन्नपूर्ण आधार शिविर भ्रमणमा गएका पर्यटक पनि फर्किएका छन्। बिहीबारदेखि मौरिस हर्जोग पदमार्गमा पदयात्रा रोकिएको पदमार्गका अभियन्ता तेज गुरुङले बताएका छन्।





