कृष्णभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

ड्रागन मिडिया सम्वाददाता
लगातारको वर्षापछि बिहीबार राति धादिङको कृष्णभीरमा ठूलो ढुङ्गासहित पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। राति करिब साढे दश बजे माथिबाट खसेको पहिरो सडकको अस्थायी मार्गनजिक पुगेको हो।
स्थानीय सुदीप गौलीका अनुसार सडकमा ठूला ढुङ्गा खसेकाले सवारी आवागमन गर्न सक्ने अवस्था छैन। यसअघि भोटेकोशीको बाढीका कारण सडक भासिएपछि सोही स्थाननजिक अस्थायी मार्ग बनाइएको थियो।
स्थानीय प्रशासनले पहिरोको जोखिमका कारण यस सडकखण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। रातको समय र थप पहिरो खस्न सक्ने जोखिमलाई ध्यानमा राख्दै तत्काल पहिरो पन्छाउने काम सुरु गरिएको थिएन।





