९ आश्विन २०८३, शुक्रबार

नेपाल–भारत व्यापार सन्धि पुनरावलोकनको प्रक्रिया अघि बढ्ने

ड्रागन मिडिया सम्वाददाता

नेपाल र भारतबीच व्यापार सन्धि पुनरावलोकनको प्रक्रिया अघि बढाउने सहमति भएको छ। सेप्टेम्बर १६ र १७ मा नयाँदिल्लीमा बसेको द्विपक्षीय अन्तरसरकारी उपसमितिको बैठकमा यस विषयमा छलफल भएको हो। सहमतिअनुसार छ महिनाभित्र दुवै देशका अधिकारी सम्मिलित प्राविधिक समिति गठन गरिनेछ।

बैठकमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङका अनुसार समितिले सन्धिमा संशोधन आवश्यक पर्ने विषय पहिचान गरी सुझाव दिनेछ। त्यसैका आधारमा पुनरावलोकनको थप प्रक्रिया अघि बढ्नेछ। सन्धि पछिल्ला वर्षहरूमा स्वतः नवीकरण हुँदै आएको भए पनि यसमा ठोस संशोधन भएको छैन।

नेपालले भारतमा जुट र स्टिलजन्य वस्तुको निर्यातमा देखिएका अवरोध हटाउन पनि अनुरोध गरेको थियो। गुरुङका अनुसार भारतीय पक्षले व्यापारसम्बन्धी संरक्षणात्मक उपाय कानुनी अनुसन्धान प्रक्रियाबाट निर्धारण हुने बताउँदै त्यसका लागि आवश्यक सूचना र विवरण उपलब्ध गराउन आग्रह गरेको छ।

नेपाली पक्षले भन्सारबाहेकका अवरोध, व्यापार लागत, सेवाको व्यापार र व्यापारिक प्रक्रियाको विद्युतीकरणलाई पुनरावलोकनका सम्भावित विषयका रूपमा अघि सार्ने तयारी गरेको छ। व्यापार विज्ञ तथा पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले नेपाली वस्तुको भारतीय बजारमा पहुँच सहज बनाउन कागजी प्रक्रिया र प्राविधिक अवरोध सम्बोधन गर्नुपर्ने बताउनुभएको छ। कृषि वस्तुको व्यापारसम्बन्धी व्यवस्था परिमार्जन गर्दा भने नेपाली किसानको हित र आपूर्ति व्यवस्थामा पर्ने प्रभाव दुवैलाई ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button