९ आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीको प्रस्तावअघि पौडेलले उठाएका थिए हिमाली सहकार्यको मुद्दा

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा नेपाल, चीन र भारतको नेतृत्वमा हिमाली जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्ने प्रस्ताव गर्नुअघि पत्रकार तथा विश्लेषक प्रेम सागर पौडेलले तीन देशबीच सीमापार जोखिम सूचना र पूर्वसूचना सहकार्य विस्तार गर्नुपर्ने विषय उठाउनुभएको थियो। उहाँको लेख सेप्टेम्बर ९ मा ड्रागन मिडियामा प्रकाशित भएको थियो।

भोटेकोशी विपदपछि प्रकाशित उक्त लेखमा पौडेलले चीन र भारतसँगको जलविज्ञान तथा मौसमसम्बन्धी सूचना आदानप्रदानलाई हिमनदी, हिमताल, वर्षा, नदी प्रवाह, भौगर्भिक अस्थिरता र भूउपग्रहबाट प्राप्त तथ्याङ्कसम्म विस्तार गर्नुपर्ने लेख्नुभएको थियो। एउटा देशको माथिल्लो क्षेत्रमा देखिएको असामान्य गतिविधिको सूचना अर्को देशका तल्लो तटीय बस्तीका लागि जीवनरक्षक चेतावनी बन्न सक्ने उहाँको तर्क थियो।

सेप्टेम्बर २२ मा प्रकाशित अर्को लेखमा उहाँले प्रधानमन्त्रीको आसन्न महासभा सम्बोधनसँग जोडेर चीन र भारतसँग नियमित वैज्ञानिक संवाद, आपत्कालीन सञ्चार तथा जोखिम सूचना समयमै साझा गर्ने व्यवस्थालाई नेपालको जलवायु कूटनीतिक प्राथमिकता बनाउनुपर्ने प्रस्ताव गर्नुभएको थियो।

प्रधानमन्त्री शाहले महासभामा तीन देशको नेतृत्वमा संयन्त्र स्थापना गरी भूउपग्रहका तथ्याङ्क र विशेषज्ञता साझा गर्ने, जोखिमयुक्त हिमतालको निगरानी गर्ने, संयुक्त पूर्वसूचना प्रणाली सुदृढ बनाउने तथा विपदका बेला सीमापार सहायता समन्वय गर्ने प्रस्ताव गर्नुभएको छ। यी विषय पौडेलका पूर्वप्रकाशित लेखमा उठाइएका प्राथमिकतासँग मिल्छन्।

पौडेलको सेप्टेम्बर ९ को लेखपछि सेप्टेम्बर १३ मा प्रकाशित सामग्रीमा पूर्वसंयुक्त राष्ट्रसंघ अधिकारी कुलचन्द्र गौतमले तीनदेशीय हिमाली संयन्त्र स्थापना गर्ने स्पष्ट सुझाव दिनुभएको थियो। यसरी पौडेलले साझा जोखिम सूचना र पूर्वसूचनाको आवश्यकता पहिले उठाउनुभएको देखिन्छ भने गौतमले संयन्त्रको संस्थागत स्वरूप प्रस्ताव गर्नुभएको देखिन्छ। प्रधानमन्त्रीको प्रस्ताव कुनै निश्चित लेखबाट आएको प्रमाण उपलब्ध छैन।

महासभामा उठेको यस विचारको सफलता अब तीन देशबीच तथ्याङ्क आदानप्रदान, चेतावनी प्रवाह र विपद सहायता समन्वयका लागि कार्यान्वयनयोग्य व्यवस्था बन्ने वा नबन्नेमा निर्भर हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button