युवा यात्रुको आकर्षणसँगै चीनका जिल्लामा पर्यटन विस्तार

ड्रागन मिडिया समाचार कक्ष
प्रकृति, स्थानीय संस्कृति र आफैँ सहभागी हुन सकिने गतिविधि खोज्ने युवा यात्रुको सङ्ख्या बढेसँगै चीनका जिल्ला तहका गन्तव्यमा पर्यटन विस्तार भएको छ। शहरका चर्चित स्थल मात्र घुम्ने चलनभन्दा फरक अनुभव खोज्ने यात्रुले ग्रामीण आवास, स्थानीय परिकार र सांस्कृतिक गतिविधिमा खर्च बढाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
उत्तरपश्चिम चीनको शान्सी प्रान्तस्थित निङशान जिल्लाको एउटा विश्रामस्थलमा पुगेका अधिकांश यात्रु नजिकैको सियान शहरबाट आउने गरेका छन्। विश्रामस्थलकी व्यवस्थापक सुए रोङका अनुसार त्यहाँ आउने पाहुनामध्ये करिब ८० देखि ९० प्रतिशत सियानका हुन्। आवास र भोजनसँगै त्यहाँ पाहुनाले स्थानीय हस्तकला तथा प्रकृतिसँग सम्बन्धित गतिविधिमा सहभागी हुन पाउँछन्।
स्थानीय सेवा मञ्च मेइथुआनका अनुसार सन् २०२६ को पहिलो छ महिनामा आफ्नो बसोबास क्षेत्रबाहिरका यात्रुले चीनका जिल्ला तहका गन्तव्यमा गरेको खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.१ प्रतिशतले बढेको छ। त्यस्ता यात्रुको प्रतिकारोबार औसत खर्च करिब ५८ युआन थियो, जुन स्थानीय बासिन्दाको औसत खर्चभन्दा झन्डै ५० प्रतिशत बढी हो।
दक्षिणपश्चिम चीनको कुइचौ प्रान्तस्थित सान्दु शुई स्वायत्त जिल्लाले परम्परागत घोडदौड र शुई समुदायको कढाइकलालाई पर्यटकीय आकर्षण बनाएको छ। स्थानीय अधिकारीका अनुसार यस वर्षको पहिलो छ महिनामा त्यहाँ ३२ लाख २० हजार पर्यटक भ्रमण भएका छन्। यो अघिल्लो वर्षको सोही अवधिभन्दा ११ प्रतिशत बढी हो। सो अवधिमा पर्यटनबाट तीन अर्ब ३० करोड युआन आम्दानी भएको जनाइएको छ।
चिनियाँ सरकारले वाणिज्य, कृषि, संस्कृति, पर्यटन र खेलकुदलाई जोडेर विशिष्ट ग्रामीण गन्तव्य विकास गर्ने नीति अघि सारेको छ। स्थानीय संस्कृति र प्रकृतिमा आधारित पर्यटनलाई आन्तरिक उपभोग तथा ग्रामीण अर्थतन्त्र विस्तार गर्ने माध्यमका रूपमा हेरिएको छ।





