निरन्तर वर्षाले राजमार्ग अवरुद्ध, मनाङ र जाजरकोटका उच्च क्षेत्रमा हिमपात

ड्रागन मिडिया सम्वाददाता
बुधबारदेखि जारी वर्षाले देशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढाएको छ। शुक्रबार दिउँसोसम्म प्राप्त विवरणअनुसार केही प्रमुख राजमार्ग अवरुद्ध भएका छन् भने मनाङ र जाजरकोटका उच्च क्षेत्रमा हिमपात भइरहेको छ। मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।
रोशी खोलामा आएको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडा र घुमाउनेमा बनाइएका अस्थायी मार्ग बगाएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो र चितवनको फिस्लिङ नजिक धारापानीमा सडक भासिएपछि सवारी आवागमन प्रभावित छ। नारायणगढ–मुग्लिन सडकखण्ड पनि अर्को सूचना नभएसम्म बन्द रहेको चितवन प्रशासनले जनाएको छ। नारायणगढबाट मुग्लिन हुँदै पोखरातर्फको बाटो खुले पनि मुग्लिन हुँदै काठमाडौं जाने सडक खुल्ने अवस्था नरहेको सडक कार्यालयको भनाइ छ।
पाल्पाको सिद्धबाबा मन्दिर नजिक सडकमा ढुङ्गा खस्दा सिद्धार्थ राजमार्ग शुक्रबार दिउँसो पुनः अवरुद्ध भएको छ। बिहान उक्त सडकखण्ड सञ्चालनमा आएको थियो। ताप्लेजुङमा पहिरोले मेची राजमार्गको कावेली–ताप्लेजुङ खण्ड र बाढीले तमोर करिडोर अवरुद्ध गरेको छ। खोटाङमा पहिरोका कारण मध्यपहाडी लोकमार्गबाट लामो दूरीका सवारी सञ्चालन रोकिएका छन्।
निरन्तर वर्षापछि नारायणी, कमला, तमोर र अन्य नदीमा पानीको सतह बढेको छ। देवघाट जलमापन केन्द्रमा शुक्रबार दिउँसो नारायणीको सतह ५.१९ मिटर नाघेको थियो; त्यहाँ सात मिटरलाई चेतावनी तह मानिन्छ। काभ्रेको पनौतीस्थित मापन केन्द्रमा रोशी खोलाले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। धनुषामा कमला नदी किनारका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।
मनाङको माथिल्लो क्षेत्रमा शुक्रबार बिहानदेखि वर्षासँगै हिमपात भएपछि प्रशासनले तीन दिन उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ। जाजरकोटका चाखुरे र कुशे पाटनलगायत क्षेत्रमा पनि हिमपात हुँदा पशुचौपाया तल्लो भेगतर्फ सार्न थालिएको छ। चिसो र वर्षाले भूकम्पपछि अस्थायी टहरामा बसिरहेका परिवारलाई थप कठिनाइ भएको छ। गोरखामा मनास्लु क्षेत्रको पदयात्रा अर्को सूचना नभएसम्म रोकिएको छ।
कर्णाली प्रदेशमा जोखिमलाई ध्यानमा राख्दै लामो दूरीका सवारीसाधन रोकिएका छन्। बर्दियामा पनि लामो दूरीका रात्रिकालीन यात्रुवाहक बस असोज ११ गतेसम्म बन्द गरिएको छ। विभिन्न जिल्लाका स्थानीय तहले विद्यालयमा पठनपाठन स्थगित गरेका छन्। अधिकारीहरूले यात्राअघि सडकको पछिल्लो अवस्था बुझ्न र नदी किनार तथा पहिरोको जोखिम भएका स्थानबाट टाढा रहन आग्रह गरेका छन्।





