कांग्रेसका सबै तहका समितिमा युवा प्रतिनिधित्वको व्यवस्था, पदाधिकारीमा कोटा छैन

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको नयाँ विधानले वडा कार्यसमितिदेखि केन्द्रीय कार्यसमितिसम्म युवाका लागि सदस्य पदमा प्रतिनिधित्व सुनिश्चित गरेको छ। पार्टीका विभिन्न तहमा अधिवेशन भइरहँदा यो व्यवस्था कार्यान्वयनमा आएको छ। सदस्य पदमा कोटा तोकिए पनि पदाधिकारीमा भने युवाका लागि छुट्टै स्थान सुनिश्चित गरिएको छैन।
विधानअनुसार गाउँपालिकाका प्रत्येक वडा कार्यसमितिमा एक जना तथा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रत्येक वडा कार्यसमितिमा दुई जना युवा सदस्य रहनेछन्। यस व्यवस्थाबाट देशभरका ६ हजार ७४३ वडा कार्यसमितिमा १० हजार २७० युवाको प्रतिनिधित्व हुने अनुमान गरिएको छ। त्यस्तै, ७५३ पालिका कार्यसमितिमा तीन जनाका दरले दुई हजार २५९ युवा सदस्य रहनेछन्।
प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिहरूमा गरी ३३० र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिहरूमा गरी अर्को ३३० युवा सदस्य रहने व्यवस्था छ। प्रत्येक जिल्ला कार्यसमितिमा तीन जनाका दरले ७७ जिल्लाबाट २३१ युवाको प्रतिनिधित्व हुनेछ। सात प्रदेश कार्यसमितिमा ३५ वर्षमुनिका सात जनाका दरले ४९ र केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका १४ युवा सदस्य रहनेछन्।
महाधिवेशन प्रतिनिधिका लागि पनि प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका तीन जनाको प्रतिनिधित्व गराउने व्यवस्था गरिएको छ। देशभरका १६५ निर्वाचन क्षेत्रबाट यसरी कुल ४९५ युवा महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। सदस्य पदका लागि तोकिएको यो कोटा पदाधिकारीमा लागू हुँदैन। यद्यपि, केही वडा र पालिका अधिवेशनमा युवाहरू पदाधिकारीमै निर्वाचित भएका छन्।
विधानले समितिमा युवाको उपस्थिति सुनिश्चित गरे पनि उनीहरूलाई निर्णय प्रक्रियामा कति प्रभावकारी भूमिका मिल्छ भन्ने कुरा नेतृत्व चयन र समितिहरूको कार्यशैलीबाट स्पष्ट हुनेछ।





