ट्रम्पद्वारा आयोजित राजकीय रात्रिभोजमा सी चिनफिङ सहभागी

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकाको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी फङ लियुआन बिहीबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्प र मेलानिया ट्रम्पले ह्वाइट हाउसमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन्। दुवै राष्ट्रपति दम्पतीले अतिथिहरूसँग भेट गरेका थिए।
रात्रिभोजमा सम्बोधन गर्दै सीले चीन र अमेरिकाबीचको सम्बन्ध विकासलाई समर्थन गर्ने अमेरिकी नागरिकलाई मध्य शरद पर्वको शुभकामना दिए। उनले गत मेमा ट्रम्पले चीनको भ्रमण गरेको स्मरण गर्दै छ महिनाभित्र दुवै राष्ट्रपतिबाट एकअर्काको देशको राजकीय भ्रमण हुनु द्विपक्षीय सम्बन्धमा उल्लेखनीय रहेको बताए।
सीका अनुसार यसपटकको भ्रमणमा विभिन्न विषयमा साझा समझदारी बनेको छ। उनले त्यसले चीन र अमेरिकाबीच रणनीतिक स्थिरतामा आधारित रचनात्मक सम्बन्ध अघि बढाउन थप दिशा दिएको बताए। दुई देशले प्रतिस्पर्धा र मतभेद व्यवस्थापन गर्दै सहकार्यको नयाँ बाटो खोज्नुपर्ने उनको भनाइ थियो।
सम्बोधनमा सीले दुई देशबीचको दुई शताब्दीभन्दा पुरानो व्यापारिक सम्बन्ध, दोस्रो विश्वयुद्धका बेला चिनियाँ र अमेरिकी नागरिकबीचको सहकार्य तथा सम्बन्ध सामान्यीकरणमा टेबल टेनिस कूटनीतिको भूमिकाको चर्चा गरे। नागरिकस्तरको सम्पर्कले आपसी सम्बन्धलाई बलियो बनाएको उल्लेख गर्दै उनले चीन र अमेरिका जिम्मेवार ठूला मुलुकका रूपमा अघि बढ्नुपर्ने बताए।
रात्रिभोजमा ट्रम्पले पनि सम्बोधन गरेका थिए। चिनियाँ समाचार संस्था सिन्ह्वाले उपलब्ध गराएको विवरणमा उनको सम्बोधनको विषयवस्तु खुलाइएको छैन। कार्यक्रममा अमेरिकी कलाकारले सांस्कृतिक प्रस्तुति दिएका थिए।





