अन्तरिक्षबाट चिनियाँ अन्तरिक्षयात्रीको मध्य शरद पर्वको शुभकामना

ड्रागन मिडिया समाचार कक्ष
चीनको थ्येनकुङ अन्तरिक्ष केन्द्रमा रहेका शेन्चौ–२३ का तीन अन्तरिक्षयात्रीले पृथ्वीबाट करिब ४०० किलोमिटर माथिबाट भिडियोमार्फत मध्य शरद पर्वको शुभकामना दिएका छन्। शुक्रबार सार्वजनिक सन्देशमा उनीहरूले परिवार र देशवासीप्रतिको सम्झना व्यक्त गरेका हुन्।
टोलीका प्रमुख चु याङचुले अन्तरिक्षमा रहे पनि आफ्नो मन देश र नागरिकसँग जोडिएको बताए। उनको यो दोस्रो अन्तरिक्ष यात्रा र अन्तरिक्षमै मनाएको दोस्रो मध्य शरद पर्व हो। पहिलो पटक अन्तरिक्ष पुगेका चाङ चियुआनले आकाशमा थ्येनकुङ देख्दा आफूले परिवारलाई सम्झिरहेको बुझिदिन आग्रह गरे।
हङकङ विशेष प्रशासनिक क्षेत्रबाट अन्तरिक्ष पुग्ने पहिलो यात्री ली चियायिङले अन्तरिक्ष केन्द्रको झ्यालबाट हेर्दा चीनका घरहरूको उज्यालो र हङकङमाथिको पूर्णिमाको चन्द्रमा सम्झिएको बताइन्। परिवारको मिलन र पूर्णिमासँग जोडिने मध्य शरद पर्व अन्तरिक्षमा मनाउनु उनका लागि विशेष अनुभव बनेको छ।
चु, चाङ र ली गत मे २४ मा शेन्चौ–२३ यानबाट प्रस्थान गरी मे २५ मा थ्येनकुङ पुगेका थिए। उनीहरू करिब चार महिनादेखि कक्षामा कार्यरत छन्। सन्देशको अन्त्यमा तीनै जनाले देशवासीलाई पर्व र परिवारसँगको समयका लागि शुभकामना दिएका छन्।





