९ आश्विन २०८३, शुक्रबार

कोरला नाकामा हिमपात, ढुवानी प्रभावित

ड्रागन मिडिया सम्वाददाता

मुस्ताङको नेपाल–चीन सीमास्थित कोरला नाकामा बिहीबार राति हिमपात भएको छ। करिब चार हजार ६१० मिटर उचाइमा रहेको नाका र आसपासका डाँडाकाँडा हिउँले ढाकिएका छन्। हिमपातका कारण नाकाबाट हुने सामान ढुवानीमा प्रयोग हुने कन्टेनरको आवतजावतमा समस्या देखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

प्रहरीका अनुसार बिहीबारदेखि मुस्ताङका अन्य क्षेत्रमा लगातार वर्षा भइरहेको छ। लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा भएको र बस्तीभन्दा माथिका उच्च क्षेत्रमा आंशिक हिमपात भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको लोमान्थाङ कार्यालयले जनाएको छ। वर्षा र हिमपातसँगै उपल्लो मुस्ताङमा चिसो बढेको छ।

मौसम प्रतिकूल बनेपछि जिल्ला प्रशासन कार्यालयले काभ्रेभिरदेखि उपल्लो मुस्ताङसम्मका सडकमा यात्रा नगर्न आग्रह गरेको छ। सम्भावित बाढी, पहिरो र सडक अवरोधको जोखिमलाई ध्यानमा राख्दै बिहीबार रातिदेखि चार दिनसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एकराज भण्डारीले जानकारी दिए।

कालीगण्डकी नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै घरपझोङ गाउँपालिकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। गाउँपालिकाले शुक्रबारदेखि सार्वजनिक सूचनामार्फत सावधानी अपनाउन अनुरोध गरेको हो। निरन्तर वर्षाका कारण ढुङ्गा र माटोबाट बनेका पुराना घर चुहिने वा भत्किने जोखिम बढेपछि केही स्थानीयले छत र गारो त्रिपालले छोपेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button