पहिरोले कर्णालीका प्रमुख राजमार्गसहित विभिन्न सडक अवरुद्ध

ड्रागन मिडिया सम्वाददाता
असोज ८ गते बेलुकादेखि १० गते बिहानसम्म परेको लगातारको वर्षापछि गएको पहिरोले कर्णाली प्रदेशका प्रमुख राजमार्गसहित विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार अवरोध हटाउन सम्बन्धित सडक कार्यालयहरूबाट उपकरण पठाइएको छ।
हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चा, कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोला र एस मोड तथा सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा गएको पहिरोले कर्णाली करिडोर र कर्णाली राजमार्गका सडकखण्ड अवरुद्ध भएका छन्। यी मार्गले सुर्खेतबाट दैलेख र कालीकोट हुँदै हुम्ला, जुम्ला तथा मुगुतर्फ जाने यातायात जोड्छन्।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ सम्लेखोलामा पहिरो जाँदा मध्यपहाडी राजमार्ग र सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा पहिरो जाँदा राप्ती राजमार्ग बन्द भएका छन्। सल्यानकै बनगाड कुपिण्डे नगरपालिका–८ र्यालेमा सुर्खेत–सल्यान सडक तथा त्रिवेणी गाउँपालिका–३ ढुङ्गेबगरमा लुहाम–कालीमाटी सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ।
जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभिर, कालीकोटको तिलागुफा नगरपालिका–१ भिग्म, जुम्लाको तातोपानी गाउँपालिका–१ स्थित बाइराँका र राँकागाउँबीचको सडक तथा मुगुको छायाँनाथ रारा नगरपालिका–७ र ८ पिनास्थित गमगढी–नाग्म सडकखण्ड पनि बन्द छन्। पहिरो पन्छाउन जुम्ला, जाजरकोट, सल्यान र सुर्खेतका सडक कार्यालयबाट डोजरलगायत उपकरण परिचालन गरिएको प्रवक्ता राठौरले बताएका छन्।




