११ आश्विन २०८३, आईतवार

कालीगण्डकीको बाढीले जलविद्युत उत्पादन बन्द, मिर्मीको पुल बग्यो

ड्रागन मिडिया सम्वाददाता

कालीगण्डकी नदीमा आएको बाढीका कारण स्याङ्जास्थित १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनामा उत्पादन बन्द भएको छ। नदीले आइतबार बिहान मिर्मीस्थित करिब ५० मिटर लामो पक्की पुल बगाउँदा स्याङ्जा र गुल्मीबीचको सडक सम्पर्क विच्छेद भएको छ।

आयोजनाका सहायक प्रशासनिक अधिकृत ठाकुर पाण्डेका अनुसार बेलटारीस्थित विद्युतगृहबाट पानी बाहिरिने स्थानभन्दा नदीको सतह करिब १५ मिटर माथि पुगेपछि उत्पादन रोकिएको हो। शुक्रबार राति पौने दश बजेदेखि तीनवटै टर्बाइन बन्द गरिएको छ। बाँधका तीनवटै ढोका खोलिएका छन्।

आइतबार बिहान करिब ६ बजे बगाएको पुलले स्याङ्जालाई गुल्मी र कालीगण्डकी करिडोरसँग जोड्थ्यो। पुल बगेसँगै गुल्मीको अर्वेनी र पूर्तिघाट हुँदै बागलुङतर्फ जाने बाटो अवरुद्ध भएको छ। गुल्मी र बागलुङबाट स्याङ्जा हुँदै पाल्पा तथा बुटवल आउने यात्रु पनि प्रभावित भएका छन्। उक्त पुल आयोजना निर्माणका क्रममा २०५३ सालमा बनाइएको थियो।

नदीको बहाव बढ्दा गुल्मीको रुरु क्षेत्रमा कालीगण्डकी करिडोरको सडक र खेलमैदान डुबानमा परेका छन्। स्थानीयका अनुसार श्रृंगेश्वर मन्दिरका सिँढीसम्म पानी पुगेको छ। प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रले निरन्तर वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तराईमा डुबानको जोखिम बढेको जनाएको छ।

केन्द्रका अनुसार हावाहुरीले प्युठानको स्वर्गद्वारीस्थित धर्मशाला र गौशालाका १९ वटा टिनका पाता उडाएको छ। नौबहिनी गाउँपालिकामा पाँच घरका छानामा समेत क्षति पुगेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button