११ आश्विन २०८३, आईतवार

पूर्वप्रधानन्यायाधीश राणालाई नियन्त्रणमा लिएर छाडिएको घटनामा सत्तारूढ दलकै सांसदको प्रश्न

ड्रागन मिडिया सम्वाददाता

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई घरबाट प्रहरी कार्यालय लगेर करिब १२ घण्टापछि छाडिएको घटनामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीब खत्रीले सरकारसँग स्पष्टीकरण मागेका छन्। प्रहरीले सुरक्षा जोखिमका कारण राणालाई कार्यालय ल्याइएको जनाएको विवरण सार्वजनिक भएपछि उनले जोखिमको आधार र छाड्ने निर्णयको कारण स्पष्ट पार्नुपर्ने बताएका हुन्।

देशसञ्चारका अनुसार खत्रीले सामाजिक सञ्जालमा राणालाई राति घरबाट लैजानुपर्ने अवस्था के थियो र केही घण्टामै सुरक्षा खतरा कसरी हट्यो भन्ने प्रश्न गरेका छन्। नागरिकलाई सुरक्षा दिनु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले राणालाई घरबाट लैजाने प्रहरीको तरिकाप्रति आपत्ति जनाएका छन्।

प्रहरीले प्रयोग गरेको प्रक्रिया ‘अपहरणको शैली’ जस्तो भएको खत्रीको टिप्पणी छ। उनले आफ्नो दलका सभापति रवि लामिछानेमाथि विगतमा गरिएको व्यवहारसँग पनि यस घटनाको तुलना गरेका छन्। प्रहरीले राणालाई नियन्त्रणमा लिनुको कानुनी आधार, उनीमाथि भनिएको सुरक्षा जोखिमको प्रकृति र छाड्ने निर्णयबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button