११ आश्विन २०८३, आईतवार

पूर्वप्रधानन्यायाधीश राणा घर फर्किए, निवासबाहिर प्रहरी तैनाथ

ड्रागन मिडिया सम्वाददाता

सुरक्षा जोखिम रहेको भन्दै आइतबार बिहान करिब दुई बजे घरबाट प्रहरी कार्यालय लगिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा आफ्नो निवास फर्किएका छन्। प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको जनाएको छ। उनको निवासबाहिर प्रहरी तैनाथ गरिएको जनआस्थाले उल्लेख गरेको छ।

जनआस्थाका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्का आफैँ राणालाई घरसम्म पुर्‍याउन गएका थिए। खड्काले राणालाई उनले भनेकै ठाउँमा पुर्‍याइएको बताएका थिए भने प्रहरी उपरीक्षक रामेश्वर कार्कीले उनलाई परिवारको जिम्मा लगाइएको जानकारी दिएका थिए।

यसअघि राणालाई भेट्न प्रहरी कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको तीन सदस्यीय टोलीले प्रवेश पाएको थिएन। आयोग सदस्य मनोज दुवाडीसहितको टोली करिब ४५ मिनेट पर्खिएर राणालाई नभेटी फर्किएको जनआस्थाले जनाएको छ।

राणालाई घरबाट प्रहरी कार्यालय लैजानुपर्ने सुरक्षा जोखिम के थियो र निवासबाहिर तैनाथ प्रहरीको भूमिका के हो भन्ने विषयमा विस्तृत आधिकारिक विवरण सार्वजनिक भएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button