जबरालाई नियन्त्रणमा लिँदा जेनजीको नाम जोडिएकोमा रक्षा बमको प्रश्न

ड्रागन मिडिया सम्वाददाता
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा जोखिम रहेको भन्दै प्रहरीले मध्यरातमा कार्यालय लगेको घटनामा जेनजीको नाम जोडिएपछि अभियन्ता रक्षा बमले सरकार र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्। उनले जोखिमको आधार स्पष्ट नगरी सिङ्गो पुस्तालाई सुरक्षा खतराका रूपमा प्रस्तुत गर्न नमिल्ने बताएकी छन्।
‘जेनजी भनेको भूमिगत आतंकवादी संगठन हो?’ बमले प्रश्न गरेकी छन्। उनले कानुनी विधि र प्रक्रिया पालना नगरी कसैलाई नियन्त्रणमा लिने अनि त्यसको कारण जेनजीलाई देखाउने प्रवृत्तिको आलोचना गरेकी छन्। ‘तपाईहरूको अक्षमता ढाकछोप गर्न प्रयोग हुने शब्द हो र जेनजी?’ उनको प्रश्न छ।
प्रहरीले जबरालाई सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याएको जनाएको छ। तर जोखिम कसबाट र कस्तो प्रकृतिको थियो भन्ने प्रमाण सार्वजनिक भएको छैन। राष्ट्रिय मानव अधिकार आयोगले जबरालाई भेट्न गएको आफ्नो टोलीलाई प्रहरीले रोकेको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग आग्रह गरेको छ।





