संघीय संसदका दुवै सदनको बैठक आज, प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत हुने

ड्रागन मिडिया सम्वाददाता
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ। बिहान ११ बजे शुरु हुने प्रतिनिधिसभा बैठकमा तीन विधेयक प्रस्तुत गर्ने र अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभा बैठकमा प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित केही नेपाल ऐन संशोधन गर्ने विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। राष्ट्रियसभामा भने प्रधानमन्त्री शाहले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।





