राणाको पक्राउप्रति संसदमा एमालेको आपत्ति, महरले भने– सरकारले ‘राज्य आतंक’ सिर्जना गर्यो

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउप्रति आपत्ति जनाउँदै सरकारले ‘राज्य आतंक’ सिर्जना गरेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पक्राउको आधार सार्वजनिक गर्न र राणालाई सुरक्षा धम्की दिएको भनिएका व्यक्तिको पहिचान खुलाउन माग गरे।
महरले राणालाई कसुर र अभियोग नखुलाई पक्राउ गरिएको दाबी गरे। ‘बिनाकसुर, बिनाअभियोग पक्राउ गरिएको छ,’ उनले भने। धम्की दिने भनिएका व्यक्तिलाई सुरक्षा दिएर धम्की पाएको भनिएका व्यक्तिलाई पक्राउ गरिएको उनको आरोप थियो। राणालाई जेनजीबाट सुरक्षा धम्की आएको भनिएको हो भने त्यसमा संलग्न व्यक्ति को हुन् भन्ने सरकारले स्पष्ट पार्नुपर्ने उनले बताए।
महरले विरोध गरेकै आधारमा व्यक्तिको प्रतिष्ठामा आघात पुर्याउने काम भएको आरोपसमेत लगाए। तथ्य र प्रमाणका आधारमा कारवाही गर्नुपर्नेमा सरकारले पूर्वाग्रहपूर्ण कदम चालेको उनको भनाइ थियो। ‘लोकतन्त्रमा कानुन र प्रश्नभन्दा माथि कोही पनि हुँदैन,’ भन्दै उनले जनसमर्थनलाई कानुनी शासन उल्लङ्घन गर्ने अधिकारका रूपमा लिन नहुने बताए।





