१२ आश्विन २०८३, सोमबार

नेपालको विपदपछिको पुनर्निर्माणमा सहयोग गर्ने एसियाली पूर्वाधार लगानी बैंकको प्रतिबद्धता

ड्रागन मिडिया सम्वाददाता

एसियाली पूर्वाधार लगानी बैंककी अध्यक्ष जोउ जियायीले नेपालमा हालै आएको विनाशकारी बाढीपछिको उत्थानशील पुनर्निर्माणमा बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। कतारको दोहामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको भेटमा उनले भोटेकोशी नदीको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति समवेदना प्रकट गरेकी हुन्।

बैंकको गभर्नर परिषद्को एघारौँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री वाग्लेले नेपालमा बैंकको लगानी बढाउन, विपदपछिको पुनर्निर्माणमा सघाउन र सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न आग्रह गरे। बैंकका लागि नेपालका गभर्नरसमेत रहेका उनले पुनर्निर्माणसँगै दीर्घकालीन पूर्वाधार विकासमा स्रोत परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए।

अध्यक्ष जोउले परियोजना तयारीसम्बन्धी विशेष कोषमार्फत नेपाललाई अनुदान सहायता उपलब्ध गराउन सकिने बताइन्। अर्को विशेष कोषको अनुदान उपयोग गरेर नेपाललाई दिइने ऋणको ब्याजदर थप सहुलियतपूर्ण बनाउन सकिने सम्भावनाबारे पनि उनले उल्लेख गरिन्। भेटमा यससम्बन्धी कुनै रकम वा ऋण सम्झौता घोषणा गरिएको छैन।

अर्थमन्त्री वाग्लेले बैंकको लगानीमा सञ्चालित विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र द्रुतमार्गसम्बन्धी अध्ययन शीघ्र सम्पन्न गर्न आग्रह गरे। बैंकको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पुर्‍याएको क्षतिबारे पनि उनले अध्यक्ष जोउको ध्यानाकर्षण गराए।

वाग्लेले हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक र डिजिटल पूर्वाधारमा बैंकको आफ्नै स्रोतसँगै अन्य विकास साझेदारको स्रोतसमेत परिचालन गर्न आग्रह गरे। उनले अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणको निमन्त्रणासमेत दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button