राणालाई भेट्न नदिएको विषयमा आयोगले एसएसपी खड्कालाई बोलायो

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई भेट्न गएको आफ्नो टोलीलाई प्रहरी कार्यालय प्रवेश गर्न नदिएको विषयमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार खड्कालाई मङ्गलबार बिहान ११ः३० बजे उपस्थित हुन पत्र पठाइएको छ। आयोगका सदस्य मनोज दुवाडी नेतृत्वको टोली आइतबार राणाको अवस्था बुझ्न टेकुस्थित प्रहरी कार्यालय पुगेको थियो। प्रवेशद्वारमै करिब एक घण्टा कुर्दा पनि भित्र जान नपाएपछि टोली फर्किएको आयोगले जनाएको छ।
राणालाई प्रहरीले निवासबाट कार्यालय लगेको घटनापछि आयोगले उनको अवस्था बुझ्न खोजेको हो। प्रहरीले यसअघि उनलाई सुरक्षा चुनौतीका कारण सुरक्षित स्थानमा लगिएको र मुद्दा चलाउने योजना नरहेको बताएको थियो। आयोगको टोलीलाई भेट गर्न किन रोकियो भन्ने विषयमा खड्काको स्पष्टीकरण आउन बाँकी छ।
आयोगले संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न आग्रह गर्दै आफ्नो टोलीलाई प्रवेश नदिने अधिकारीमाथि कारवाहीको माग गरेको छ। आयोगको सोधपुछपछि घटनाबारे थप विवरण स्पष्ट हुने अपेक्षा गरिएको छ।





