१२ आश्विन २०८३, सोमबार

राणालाई प्रहरी कार्यालय लगिएको घटनाप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण

ड्रागन मिडिया सम्वाददाता

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राति निवासबाट प्रहरी कार्यालय लगेर करिब दश घण्टा राखिएको घटनाप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले नागरिकलाई नियन्त्रणमा लिँदा कानुनले तोकेको उचित प्रक्रिया पालना गर्नुपर्ने संवैधानिक दायित्व स्मरण गराएको हो।

सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिअनुसार असोज १० गते राति प्रहरी अधिकारीहरूले जबरालाई निवासबाट टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्‍याएका थिए। उनलाई करिब दश घण्टापछि परिवारको जिम्मा लगाइएको विज्ञप्तिमा उल्लेख छ।

पूर्ण बैठकले वैयक्तिक स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सबै नागरिकलाई समान रूपमा प्राप्त हुने जनाएको छ। कानुनी प्रक्रिया पूरा नगरी गरिने कारवाहीमा स्वेच्छाचारिताको जोखिम हुने र त्यसलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने अदालतको भनाइ छ। पूर्व तथा बहालवाला न्यायाधीशहरूप्रति राज्यका निकायले गर्ने व्यवहार न्यायपालिकाको स्वतन्त्रतासँग पनि जोडिने भएकाले संवेदनशील हुने सर्वोच्चले जनाएको छ।

सर्वोच्च अदालतले घटनालाई कुनै पूर्व पदाधिकारीसँग जोडेर न्याय सम्पादनका कामकारवाहीको चित्रण नगर्न आग्रह गरेको छ। अदालतका अनुसार न्याय सम्पादनमा बाह्य वा आन्तरिक कुनै पनि प्रभावलाई स्थान दिइने छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button