बाढीपहिरोमा ज्यान गुमाएकाका परिवारलाई गण्डकी सरकारले एक लाख २५ हजार दिने

ड्रागन मिडिया सम्वाददाता
गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत र किरिया खर्च गरी प्रतिपरिवार एक लाख २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। यसमध्ये एक लाख रुपैयाँ राहत र २५ हजार रुपैयाँ किरिया खर्चका लागि छुट्याइएको हो।
सोमबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिए। बागलुङ, म्याग्दीलगायत जिल्लामा बाढीपहिरोका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई यो रकम दिइने उनले बताए।
बैठकले प्रभावित जिल्लामा भएको क्षतिको विस्तृत विवरण सङ्कलन गरी पुनर्निर्माण र पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाउने निर्णय पनि गरेको छ। क्षतिको मूल्याङ्कनपछि प्रभावित क्षेत्रका लागि थप कार्यक्रम निर्धारण गरिने प्रदेश सरकारले जनाएको छ।





