उद्योग र लगानी सुरक्षामा निजी क्षेत्रसँग सहकार्य गर्ने बागमतीका मुख्यमन्त्रीको प्रतिबद्धता

ड्रागन मिडिया सम्वाददाता
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले उद्योगको संरक्षण, सञ्चालन र लगानी सुरक्षाका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन्। मकवानपुर उद्योग वाणिज्य सङ्घले सोमबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा उनले उद्योग सञ्चालनमा देखिएका समस्या समाधान गर्न प्रदेश सरकारले नीतिगत तथा भौतिक पूर्वाधारका क्षेत्रमा सहयोग गर्ने बताए।
हेटौँडा औद्योगिक क्षेत्रका केही उद्योग बन्द हुने अवस्थामा पुगेको र केहीले कच्चापदार्थको अभाव खेपिरहेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले सञ्चालन गर्न सकिने र समस्यामा परेका उद्योगका लागि आवश्यक नीति ल्याउने बताए। प्रदेश सरकारले करको दर बढाउनुभन्दा करको दायरा विस्तार गर्ने उनको भनाइ थियो।
कानुनी प्रक्रिया पूरा गरेर स्थापना भएका उद्योगलाई अवरोध हुँदा लगानीकर्ता हतोत्साहित हुने भन्दै उनले उद्योग संरक्षण र स्थानीय रोजगारी सिर्जनालाई प्राथमिकता दिने बताए। हालैको विपद्का कारण मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग सञ्चालनमा प्रदेश सरकारले काम गरिरहेको र प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय हुने उनले जानकारी दिए।





