प्रतिनिधिसभामा आज प्रतिरक्षा विश्वविद्यालयसहित तीन विधेयक प्रस्तुत हुने सम्भावना

ड्रागन मिडिया सम्वाददाता
प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारमा बस्दैछ। सम्भावित कार्यसूचीअनुसार बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, डिप्लोमा इञ्जिनियरिङ परिषद र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक अघि बढाइनेछ।
प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम छ। उनले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि राख्नेछिन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालनसम्बन्धी विधेयकको समितिको प्रतिवेदन प्रस्तुत गर्ने सम्भावना छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इञ्जिनियरिङ परिषद विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् भने स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची छ।
आजै अर्थ समिति तथा सार्वजनिक नीति र प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने कार्यक्रम छ। सम्भावित कार्यसूची बैठक सञ्चालनका क्रममा परिवर्तन हुन सक्छ।





