वर्षाले श्रीलंकासँगको खेल रद्द, एसियाली खेलकुद क्रिकेटबाट नेपाल बाहिरियो

ड्रागन मिडिया सम्वाददाता
एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। मंगलबार नागोयाको कोरोगी स्पोर्ट्स पार्कमा तय भएको खेलमा टससमेत हुन सकेन।
खेल रद्द भएमा टी–२० वरीयतामा माथि रहेको टोली अघि बढ्ने व्यवस्थाअनुसार श्रीलंकाले सेमिफाइनलमा स्थान पाएको हो। देशसञ्चारका अनुसार श्रीलंका नवौँ र नेपाल १४औँ स्थानमा छन्। खेल्नै नपाई बाहिरिनुपर्दा नेपालको पदक जित्ने सम्भावना समाप्त भएको छ।
नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो। जापानविरुद्धको अर्को खेलमा नेपालले १५ ओभरमा चार विकेट गुमाएर १४९ रन बनाए पनि पुनः वर्षा भएपछि जापानले ब्याटिङ गर्न पाएन। खेल रद्द भए पनि समूह चरणबाट नेपाल क्वाटरफाइनल पुगेको थियो।
यसअघि सोमबार भारत–अफगानिस्तान र पाकिस्तान–हङकङबीचका क्वाटरफाइनल पनि वर्षाले रद्द भएका थिए। ती खेलमा उच्च वरीयताका आधारमा भारत र पाकिस्तान सेमिफाइनल पुगेका थिए।





