राष्ट्रिय दिवसको बिदामा बढ्दो यात्रु चापका लागि चीनका विमानस्थल तयारीमा

ड्रागन मिडिया समाचार कक्ष
अक्टोबर १ देखि शुरु हुने चीनको सातदिने राष्ट्रिय दिवस बिदामा हवाई यात्रुको चाप बढ्ने अनुमानसँगै विमानस्थलहरूले उडान व्यवस्थापनको तयारी गरेका छन्। अन्तर्राष्ट्रिय यात्राको माग विशेष रूपमा बढेको अधिकारीहरूले बताएका छन्।
बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलले बिदाका सात दिनमा १६ लाख ६० हजारभन्दा बढी यात्रु आवागमन र नौ हजार ४४८ उडान हुने अनुमान गरेको छ। विमानस्थलका अनुसार अक्टोबर १ र ७ मा यात्रुको चाप सबैभन्दा बढी हुनेछ। बेइजिङ दासिङ अन्तर्राष्ट्रिय विमानस्थलले पनि मध्य शरद् पर्व र राष्ट्रिय दिवससँग जोडिएको बिदा अवधिमा १७ लाख ९० हजार यात्रु आवागमन हुने प्रक्षेपण गरेको छ।
चीनको नागरिक उड्डयन प्रशासनका अनुसार सेप्टेम्बर २५ देखि अक्टोबर ७ सम्मको विस्तृत यात्रा अवधिमा देशभर तीन करोड ११ लाख ९० हजार हवाई यात्रु आवागमन हुने अनुमान छ। यो गत वर्षको सोही अवधिभन्दा ३.६ प्रतिशत बढी हो। राष्ट्रिय दिवस बिदाका लागि अन्तर्राष्ट्रिय हवाई टिकटको अग्रिम बुकिङ पनि वार्षिक आधारमा २२.५ प्रतिशत बढेको प्रशासनले जनाएको छ।
थाइल्यान्ड, मलेसिया, भियतनाम र लाओसतर्फका उडान बढेका छन् भने युरोपका गन्तव्यमा पनि माग वृद्धि भएको छ। विमानस्थल र उड्डयन अधिकारीका यी तथ्याङ्क तथा अनुमानले बिदाको समयमा स्वदेशी र अन्तर्राष्ट्रिय यात्रा दुवैमा चाप बढ्ने सङ्केत गरेका छन्।





