इरानको सातदिने युद्धविराम प्रस्ताव अस्वीकार गरे पनि वार्ता पुनः शुरु हुने ट्रम्पको अपेक्षा

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता आगामी साता पुनः शुरु हुने अपेक्षा व्यक्त गरेका छन्। इरानले अघि सारेको सातदिने युद्धविराम र त्यसपछि हर्मुज जलमार्ग खोल्ने प्रस्ताव अस्वीकार गरे पनि वार्ताको सम्भावना कायम रहेको उनले समाचार संस्था एक्सियोसलाई बताएका हुन्।
ग्लोबल टाइम्सले फ्रान्स २४ र अन्य सञ्चारमाध्यमलाई उद्धृत गर्दै इरानको प्रस्तावमा मध्यपूर्वमा शत्रुतापूर्ण गतिविधि रोक्ने, हर्मुजबाट जहाज आवागमन पुनः सञ्चालन गर्ने र परमाणु वार्ता अघि बढाउने विषय समेटिएको जनाएको छ। त्यसका लागि इरानले अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने र तेलसम्बन्धी प्रतिबन्धमा छुट दिनेलगायत शर्त राखेको खबरमा उल्लेख छ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले प्रस्तावबारे अमेरिकाको अन्तिम जवाफ पर्खिरहेको बताएका छन्। यसैबीच, कतारका मध्यस्थकर्ताले इरानी र अमेरिकी प्रतिनिधिसँग छुट्टाछुट्टै भेट गर्ने सम्भावना रहेको एक्सियोसले सम्बन्धित श्रोतलाई उद्धृत गर्दै जनाएको छ। भेट सम्पन्न भएको पुष्टि भने समाचारमा छैन।
अमेरिका र इरान दुवैले वार्ताको सम्भावना खुला राखे पनि युद्धविरामका शर्त, प्रतिबन्ध र हर्मुज जलमार्गबारे उनीहरूबीच ठूलो मतभेद कायम छ। ट्रम्पले यसअघि इरानलाई प्रतिबन्ध खुकुलो पार्ने वा रोक्का सम्पत्ति फुकुवा गर्ने प्रस्ताव आफूले नगरेको बताएका थिए। इरानले त्यस्ता माग राख्नु र अमेरिकाले तिनमा सहमति जनाउनु फरक विषय हुन्।





