खजुरा र बैजनाथमा शाखा नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

ड्रागन मिडिया सम्वाददाता
बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले खजुरा र बैजनाथ गाउँपालिकाका किसानको खेतसम्म पानी पुर्याउन शाखा तथा उपशाखा नहर विस्तारको तयारी गरेको छ। पश्चिमी मूल नहरअन्तर्गत गुरुवागाउँ शाखा र उपशाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको आयोजना निर्देशक राजु आचार्यले जानकारी दिएका छन्।
जिल्ला प्रशासन कार्यालय बाँकेले असोज ८ गते सूचना जारी गरी जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ अनुसार अधिग्रहण प्रक्रिया अघि बढाइएको जनाएको छ। यसमा खजुरा गाउँपालिकाका वडा नम्बर १, २, ५, ८ र ९ तथा बैजनाथ गाउँपालिकाका वडा नम्बर ५ र ६ भित्र पर्ने तोकिएका जग्गा समेटिएका छन्।
आयोजनाका अनुसार सम्बन्धित जग्गाधनी वा कानुनबमोजिमका वारिसले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय वा आयोजनाको कार्यालयमा निवेदन दिएर मुआब्जा दाबी गर्न सक्नेछन्। जग्गामा घर, गोठ, पर्खाल, रुखबिरुवा वा अन्य संरचना भए तिनको विवरण निवेदनमा उल्लेख गर्नुपर्नेछ। सूचनामा त्यस्ता संरचना हटाएर बढीमा एक महिनाभित्र जग्गा खाली गर्न भनिएको छ।
सिक्टाको पश्चिमी मूल नहरबाट राप्ती नदीको पश्चिमतर्फ ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट पूर्वतर्फ करिब ९ हजार हेक्टर गरी कुल ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ। निर्देशक आचार्यका अनुसार हाल करिब २५ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ।
आयोजनाका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा दुई अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरिएको छ। अघिल्लो आर्थिक वर्षमा एक अर्ब ५७ करोड रुपैयाँ विनियोजन भएको थियो। आयोजनाअन्तर्गत डुडुवा शाखा नहरको निर्माण भइरहेको छ भने सिधनिया, प्रसेनीपुर र अकलघरवा शाखा नहरमा ठेक्का सम्झौतापछि काम अघि बढाइएको छ। गुरुवागाउँ र अन्य बाँकी शाखा तथा उपशाखा नहरका लागि पूर्वतयारी जारी रहेको आयोजनाले जनाएको छ।





