प्रतिकूल मौसमपछि मनाङबाट फर्किए २४६ विदेशी पर्यटक
ड्रागन मिडिया सम्वाददाता
निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटकले यात्रा छोट्याउन थालेका छन्। थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ र पोखरालगायत गन्तव्यमा पुग्ने योजनामा रहेका पर्यटक मनाङबाट लमजुङतर्फ फर्किएका हुन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार असोज ६ देखि १२ गतेसम्म २४६ विदेशी पर्यटक मनाङबाट फर्किएका छन्। तीमध्ये १५१ पुरुष र ९५ महिला छन्। वर्षा जारी रहँदा पदमार्गको जोखिम बढेकाले पर्यटकले यात्रा बीचमै रोक्न थालेको उनले बताए।
केही दिनअघिसम्म धारापानी हुँदै दैनिक १०० देखि १५० विदेशी पर्यटक मनाङतर्फ जाने गरेकामा अहिले त्यो सङ्ख्या घटेर एक–दुई जनामा सीमित भएको गुरुङको भनाइ छ। अधिकांश पर्यटक लमजुङतर्फ फर्किरहेका छन्।
लमजुङको बेँसीसहरबाट शुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग मनाङ, मुस्ताङ, म्याग्दी र कास्की हुँदै जान्छ। यसको सबैभन्दा उच्च बिन्दु पाँच हजार ४१६ मिटर उचाइको थोराङ्ला भञ्ज्याङ हो। मौसम प्रतिकूल भएपछि उक्त भञ्ज्याङ पार गर्ने योजना बनाएका पर्यटकको यात्रामा असर परेको छ।





