१३ आश्विन २०८३, मंगलवार

‘आदेश पालना गरेको’ एसएसपी खड्काको बयान, आयोगको अनुसन्धान जारी

ड्रागन मिडिया सम्वाददाता

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरी नियन्त्रणमा राखिएको र उनलाई भेट्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले प्रवेश नपाएको घटनामा आयोगले प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्कासँग प्रारम्भिक सोधपुछ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्काले आफूले आदेशअनुसार काम गरेको बयान दिएको आयोग स्रोतले जनाएको छ।

आयोगले खड्कालाई मङ्गलबार कार्यालयमा बोलाएको थियो। आयोगमा कार्यरत अनुसन्धान अधिकृतले उनीसँग बयान लिएकी थिइन्। खड्का बयान दिएर फर्किएका छन्, तर आयोगको अनुसन्धान जारी छ। आवश्यक परे अन्य व्यक्ति र निकायसँग पनि सोधपुछ हुन सक्ने आयोग स्रोतको भनाइ छ।

राणा प्रहरी नियन्त्रणमा रहेका बेला उनको अवस्था बुझ्न आयोगको टोली टेकुस्थित कार्यालय पुगेको थियो। टोलीलाई राणासँग भेट गर्न नदिइएको विषयले आयोगको अनुगमन अधिकार र प्रहरी कारवाहीको कानुनी आधारबारे प्रश्न उठाएको छ।

खड्काले कसको आदेश पालना गरेको बताएका हुन् भन्ने विवरण सार्वजनिक भएको छैन। राणालाई नियन्त्रणमा लिनुको आधार, त्यसको अवधि र आयोगको टोलीलाई प्रवेश नदिइनुको कारणबारे आयोगको अन्तिम निष्कर्ष आउन बाँकी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button