१३ आश्विन २०८३, मंगलवार

कालिनिनग्रादमाथि आक्रमण भए कडा प्रतिकार गर्ने रुसको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष

रुसले आफ्नो पश्चिमी भूभाग कालिनिनग्रादमाथि नाकाबन्दी वा सैन्य आक्रमण भए उपलब्ध सबै साधन प्रयोग गरेर प्रतिकार गर्ने चेतावनी दिएको छ। बेलायतस्थित रुसी दूतावासले बेलायत वा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) बाट रुसी भूभागविरुद्ध सैन्य कारवाही भए आणविक हतियारसमेत प्रयोग हुन सक्ने स्पष्ट पारेको छ।

बेलायती सञ्चारमाध्यममा कालिनिनग्रादलाई नाकाबन्दी गर्ने वा त्यहाँको रुसी सार्वभौमिकतालाई मान्यता नदिने सम्भावित विकल्पबारे चर्चा भएपछि मस्कोको प्रतिक्रिया आएको हो। स्काई न्युजको काल्पनिक युद्ध अभ्यास श्रृंखलामा पनि रुस–नेटो टकरावको सम्भावित परिदृश्य प्रस्तुत गरिएको छ।

यद्यपि कालिनिनग्रादमाथि नाकाबन्दी वा आक्रमण गर्ने कुनै औपचारिक नेटो निर्णय भएको पुष्टि छैन। रुसले आफू नेटो वा युरोपसँग युद्ध नचाहेको र आक्रमण गर्ने उद्देश्य नरहेको दोहोर्‍याएको छ।

पोल्यान्ड र लिथुआनियाबीच बाल्टिक समुन्द्रसँग जोडिएको कालिनिनग्राद रुसका लागि महत्वपूर्ण सामरिक क्षेत्र हो। यहाँ रुसी बाल्टिक नौसैनिक बेडाको प्रमुख आधार रहेको छ।

मस्कोले आफ्नो सन्देश प्रतिरोधमा केन्द्रित रहेको बताउँदै रुसी भूभागमाथि सैन्य कारवाही भए त्यसको गम्भीर जवाफ दिइने स्पष्ट पारेको छ। साथै उसले प्रत्यक्ष रुस–नेटो टकराव रोक्न संवाद र रणनीतिक स्थिरताको आवश्यकता पनि दोहोर्‍याएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button