ओलीको चेतावनी : अध्यक्ष हटाउने प्रयास अब क्षमा हुँदैन

ड्रागन मिडिया सम्वाददाता
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व हटाउने उद्देश्यले पुनर्गठनको नाममा भएका प्रयासलाई ‘अपराधपूर्ण खेल’ भन्दै अब त्यस्ता गतिविधि क्षमा नहुने चेतावनी दिएका छन्। हालै सम्पन्न केन्द्रीय कमिटी बैठकअघिका गतिविधिलाई क्षमा गरिएको, तर त्यसपछिको अनुशासनहीनतामा कारवाही गरिने उनको भनाइ छ।
मङ्गलबार कोशी, मधेश, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले केन्द्रीय कमिटी बैठकलाई पार्टी अनुशासनका लागि निर्णायक मिति मानिएको बताए। पार्टीको नीतिविपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई लाभ पुग्ने गरी अभिव्यक्ति दिने व्यक्तिमाथि कारवाही हुने उनको चेतावनी थियो।
ओलीले लोकतन्त्रको पुनर्बहाली र आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारीलाई पार्टीका दुई मुख्य कार्यभारका रूपमा प्रस्तुत गरे। प्रतिनिधि परिषद् बैठकको बहसमा अल्झिनुभन्दा निर्वाचनका लागि सङ्गठन परिचालन गर्नुपर्ने भन्दै उनले निष्प्रभावी भएका जनसङ्गठन पुनर्गठन गर्ने बताए।
देशलाई संवैधानिक प्रक्रियामा फर्काउन एमालेले नेतृत्व लिने दाबी गर्दै ओलीले विगतको निर्वाचनमा पार्टीले भोगेको क्षतिका लागि बाह्य घेराबन्दी, योजनाबद्ध विध्वंस र आन्तरिक कमजोरीलाई जिम्मेवार ठहर्याए। विरोधीले फैलाएका भ्रम चिर्न पार्टीले छिट्टै डिजिटल अभियान सञ्चालन गर्ने उनको भनाइ थियो। यी राजनीतिक आरोपको स्वतन्त्र पुष्टि भने उनले प्रस्तुत गरेनन्।
अन्य दलसँग तत्काल पार्टी एकताको चर्चा उपयुक्त नभएको ओलीले बताए। आवश्यकताअनुसार चुनावी तालमेल वा विषयगत सहकार्य हुन सक्ने उल्लेख गर्दै उनले नेताहरूलाई आआफ्नो कार्यक्षेत्रमा खटिन निर्देशन दिए। अब नेता–कार्यकर्ताको मूल्याङ्कन ज्येष्ठताभन्दा कामका आधारमा गरिने उनको भनाइ थियो।
पार्टी केन्द्रीय कार्यालय च्यासलबाट सञ्चालित कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र रघुजी पन्त, महासचिव शंकर पोखरेललगायतका नेताहरू सहभागी थिए। कार्यक्रमको सहजीकरण पोखरेलले गरेका थिए।





