१३ आश्विन २०८३, मंगलवार

स्वास्थ्य क्षेत्रका लागि दुई करोड सात लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

ड्रागन मिडिया सम्वाददाता

सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने दुई करोड सात लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। मङ्गलबारको मन्त्रीपरिषद बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको जानकारी दिए।

बैठकले कमला–ढल्केबर–पथलैया सडक खण्ड, गर्जाङ खोला साना जलविद्युत आयोजना र बलेफी खोला जलविद्युत आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ। सशस्त्र प्रहरी बललाई तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा चौकी निर्माणका लागि पनि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिइने भएको छ।

सरकारले सङ्घीय निजामती सेवासम्बन्धी विधेयक तथा पशु वधशाला र मासु जाँच ऐन, २०५५ र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन गर्ने विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको छ।

बैठकले सहसचिव आवास श्रेष्ठ कर्णलाई सचिवमा बढुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा प्रमुख सचिवका रूपमा पदस्थापन गरेको छ। इञ्जिनियरिङ सेवाका सहसचिव डा. जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गरी ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा पदस्थापन गरिएको प्रवक्ता पोखरेलले बताए।

प्रवक्ता पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ वा नियन्त्रणमा नलिइएको दाबी पनि गरे। उनका अनुसार परिवारले सुरक्षा मागेपछि जबरालाई सुरक्षित स्थानमा पुर्‍याइएको हो। सरकारले घरेलु खेलकुद लिग सञ्चालनको तयारी गरेको र देशका २७ स्थानमा खेल पूर्वाधार निर्माण अघि बढाएको पनि उनले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button