नयाँ घटनाको चर्चासँगै पुराना पीडितको न्याय ओझेलमा पर्छ : सांसद धिताल

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक तथा सांसद क्रान्तिशिखा धितालले नयाँ घटनाले सार्वजनिक ध्यान तान्दै जाँदा पुराना पीडितको न्याय र उनीहरूका समस्या ओझेलमा पर्ने गरेको बताएकी छन्। पीडितको जीवन सामान्य अवस्थामा नफर्केसम्म राज्यले निरन्तर साथ दिनुपर्ने उनको माग छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै धितालले देशमा कुनै दुःखद घटना हुँदा केही दिन चासो व्यक्त गरिने र अर्को घटना आएपछि अघिल्लो विषय बिर्सिने प्रवृत्ति रहेको बताइन्। नयाँ घटनाको चर्चाले न्यायका मुद्दालाई विस्थापित गर्न नहुने उनको भनाइ थियो।
जेनजी आन्दोलन, मधेसमा भएको साम्प्रदायिक दंगा, गणेशको आत्मदाह, गरिमा नामकी महिलाको बलात्कारपछि हत्या र रसुवाको बाढीका घटनाबीच सुकुम्बासीका पीडा ओझेलमा परेको उनले उल्लेख गरिन्। बाढीमा बेपत्ता बालबालिकाको खोजीको विषय पनि अन्य घटनाको भीडमा हराउन सक्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्।
नागरिकका पीडाबीच भेद गर्न नमिल्ने बताउँदै धितालले राज्यले केही दिनको सहानुभूतिमा मात्र सीमित नभई पीडितको जीवन सामान्य नहुँदासम्म साथ दिनुपर्ने बताइन्। “अरूको दुःखमा टेको लगाउने होइन, आफैँ टेको बन्न सिकौँ,” उनले भनिन्। राज्य पीडितका पक्षमा परिणामसहित उभिनुपर्ने उनको माग थियो।





