आर्थिक सुधारका लागि यसै वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले

ड्रागन मिडिया सम्वाददाता
अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारलाई गति दिन सरकारले चालु आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन्। पुराना ऐन खारेज गर्ने र निजी क्षेत्रले माग गर्दै आएका कानुनी संशोधन अघि बढाउने काम पनि सरकारले थालेको उनले बताए।
नेपाल पूर्वाधार सम्मेलन २०२६ को तयारीका लागि शुक्रबार आयोजित कार्यशालामा बोल्दै वाग्लेले आफू अर्थमन्त्री बनेको आधा घण्टाभित्र १५ वटा पुराना ऐन खारेज गरेको दाबी गरे। बजेटमार्फत यस वर्ष २७ नयाँ कानुन ल्याउने तयारी रहेको उनको भनाइ थियो।
निजी क्षेत्रले लामो समयदेखि कानुन संशोधनको माग गर्दै आएको उल्लेख गर्दै वाग्लेले नेपाल उद्योग परिसङ्घले २८ वटा कानुन परिमार्जन गर्न आग्रह गरेको र नेपाल उद्योग वाणिज्य महासङ्घले यसअघि ४२ वटा कानुन संशोधनको विषय उठाएको बताए। कानुनमन्त्रीले भने १६६ वटा कानुन परिमार्जन गर्नुपर्ने पहिचान गरेको र तीमध्ये ५४ वटा प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेको उनले जानकारी दिए।
आर्थिक सुधारको बाटोमा चुनौती रहेको उल्लेख गर्दै वाग्लेले नीति र संस्थामाथि कब्जा जमाएर राज्यको दोहन गर्ने प्रवृत्ति गहिरोसँग जरा गाडेर बसेको बताए। त्यसलाई कमजोर पार्न र उखेल्न समय लागिरहेको उनको भनाइ थियो।





