लिग–२ शृङ्खलाका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा

ड्रागन मिडिया सम्वाददाता
नेपाल क्रिकेट सङ्घले अक्टोबर ७ देखि ओमानमा सुरु हुने विश्वकप लिग–२ त्रिकोणात्मक शृङ्खलाका लागि १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्।
घोषित टोलीमा पूर्वकप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र करण केसीसहित अघिल्लो शृङ्खलामा खेलेका अधिकांश खेलाडी छन्। कुशल भुर्तेल, सोमपाल कामी, आरिफ शेख र भीम सार्की भने यसपटक टोलीमा परेका छैनन्।
एसिया कप प्रिमियर कप जितेको टोलीबाट हेमन्त धामीको स्थानमा नन्दन यादवलाई समावेश गरिएको छ। चोटका कारण प्रिमियर कपमा सहभागी हुन नसकेका यादव यसपटक टोलीमा फर्किएका हुन्।
लिग–२ अन्तर्गत ओमान र क्यानडासँग हुने यो त्रिकोणात्मक शृङ्खला नेपालको एकदिवसीय वरियता र विश्वकप छनोटको सम्भावनाका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
नेपाली टोली: सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलशन झा, बशिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल।





