१६ आश्विन २०८३, शुक्रबार

ग्यास आपूर्तिको मुख्य अवरोध कृष्णभीरको पहिरो : मन्त्री साह

ड्रागन मिडिया सम्वाददाता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने ग्यासको आपूर्ति क्रमशः सहज हुँदै गएको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले ग्यासको लोडिङ, ढुवानी, भण्डारण, भर्ने, वितरण गर्ने र डिलरमार्फत उपभोक्तासम्म पुर्‍याउने प्रक्रियाका समस्या पहिचान गरी समाधानको काम भइरहेको बताए।

ग्यास आपूर्ति सहज बनाउन सरकारले मागको भौगोलिक असन्तुलन, बजार व्यवस्थापन र सुरक्षाका पक्षको विश्लेषण गरिरहेको मन्त्री साहले जानकारी दिए। अभाव समाधानका लागि तत्कालीन, मध्यमकालीन र दीर्घकालीन ऊर्जा सुरक्षा योजना बनाइँदै गरेको उल्लेख गर्दै उनले नागरिकलाई तत्काल ग्यास उपलब्ध गराउनु सरकारको प्राथमिकता भएको बताए।

भण्डारण क्षमता विस्तार, ग्यास भर्ने तथा वितरण गर्ने क्षमता बढाउने र आपत्कालीन मौज्दात राख्ने विषयमा सरोकारवालासँग छलफल भइरहेको पनि उनले बताए। आपूर्ति प्रणालीको मुख्य अवरोधका रूपमा कृष्णभीरको पहिरो देखिएको भन्दै सडक खुलाउन दोब्बर जनशक्ति र यन्त्रसाधन परिचालन गरिएको उनको भनाइ थियो।

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र मूल्य नियन्त्रण पनि सरकारको प्राथमिकतामा रहेको मन्त्री साहले बताए। बजार अनुगमन व्यवसायीलाई आतङ्कित पार्न नभई स्वच्छ प्रतिस्पर्धा र उपभोक्ता अधिकार संरक्षणका लागि गरिने उनले स्पष्ट पारे।

चाडपर्वका बेला बजार अनुगमन कडा बनाइएको उल्लेख गर्दै उपभोक्ताको हितविपरीत काम गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने उनले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button