संसदको कार्यशैली कर्मकाण्डी भयो, आत्मसमीक्षा गरौँ : आचार्य

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले संसदको कार्यशैली र प्रभावकारितामाथि प्रश्न उठाउँदै सांसदहरूलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदीय अभ्यास कर्मकाण्डी बन्दै गएको बताए। यही अवस्था कायम रहे नागरिकमा निराशा बढ्ने उनको भनाइ थियो। कार्यपालिकालाई जवाफदेही बनाउने जिम्मेवारी बोकेको व्यवस्थापिका आफैँले आफ्नो लय समात्न नसकेको यथार्थ स्वीकार गर्नुपर्ने उनले बताए।
संसदका बैठक समयमा सुरु नहुनु, गणपूरक सङ्ख्या नपुग्नु र सांसदहरू अनुपस्थित हुनु संसदको गरिमामाथिको प्रहार भएको उनले बताए।
“विगत छ महिनामा जनसरोकारका विषय २७ सयभन्दा बढीपटक उठाइए। तर ती आवाजको नतिजा के आयो? संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने थलो पनि हो? हामी एकअर्काका प्रतिस्पर्धी होइनौँ। हाम्रो साझा प्रतिस्पर्धा गरिबी र कुशासनसँग हो,” आचार्यले भने।





